back

के सरकार स्वास्थ्य संकटकाल लगाउने तयारीमा हो ?

वि.सं.२०७८ जेठ ६ बिहीवार

111 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

जेठ ६, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को दोस्रो लहर निकै आक्रामक खालको देखिएको छ । दोस्रो लहरको सुरुवातीसँगै संक्रमित हुने र मृत्यु हुनेको संख्या पनि निरन्तर बढिरहेको छ । संक्रमित भएका अधिकांश बिरामीको अवस्था पनि निकै गम्भीर खालको देखिएको छ ।

सक्रिय संक्रमित निरन्तर बढिरहनु र संक्रमणबाट मृत्यु हुनेको संख्यामा पनि निरन्तर बढोत्तरी हुनुले कोरोना रोकथाम तथा नियन्त्रणमा थप चुनौति बढ्दै गएको देखिन्छ । यस्तोमा सरकारले रोकथाम तथा नियन्त्रण गर्न कतै स्वास्थ्य संकटकाल त लगाउने होइन् भन्ने प्रश्न उठेको छ ।

कोरोना महामारीको नियन्त्रण निकै चुनौतिपूर्णं बन्दै गएको परिस्थितिमा संकटकाल लगाउने उपायमा जानु सरकारका लागि स्वभाविक हुन जान्छ । तर, संकटकालले निम्त्याउने अन्य समस्या भने निकै जटिल हुने गर्दछ ।

हामी छलफलमै छौं : परराष्ट्रमन्त्री

नेकपा (एमाले)का प्रवक्ता एवं सरकारका परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली स्वास्थ्य संकटकालको विषयमा छलफल चलिरहेको बताउँछन् । उनका अनुसार सरकार स्वास्थ्य संकटकाल लगाउने विषयमा निर्णयमा भने पुगीसकेको छैन् ।

‘स्वास्थ्य संकटकाल लगाएरै अहिलेका समस्याहरु समाधान हुन्छन् भन्ने निष्कर्षमा हामी पुगेका छैनौं’, बिहिबार एमालेको स्थायी समिति बैठकपछि पत्रकारसँग प्रतिक्रिया दिँदै ज्ञवालीले भने, ‘तर के कुरा सत्य हो भने राज्यका सम्पूर्णं शक्ति एकिकृत ढंगले परिचालन गर्ने कानूनी र संरचनागत खाँचो हामीलाई महसुस भएको छ ।’

उनका अनुसार सरकारले एकिकृत ढंगले सम्पूर्णं शक्ति परिचालन गर्न नपाउँदा धेरै समस्याहरु सिर्जना भएका छन् । अहिलेको संरचनामा संघीय, प्रदेश र स्थानीय सरकारबीच उचित समन्वय हुन सकेको छैन् ।

‘यदि स्वास्थ्य संकटकाल लगाउँदा ती समस्या समाधान हुने अवस्था आउँछ भने सरकारले अवश्य सोंच्छ’, उनले भनेका छन्, ‘एकिकृत निर्णय गर्ने र स्वास्थ्य सामाग्री खरिद गर्ने कुरामा समस्या भईरहेको छ ।’

मन्त्री ज्ञवालीले बताएअनुसार स्वास्थ्य संकटकाल लगाउने विषयमा सुझाबहरु भने धेरै आएका छन् ।

केहो स्वास्थ्य संकटकाल ?

विज्ञका अनुसार जनस्वास्थ्यमा गम्भीर समस्या देखियो, महामारीको अवस्था आयो भने संकटकाल लगाउन सकिन्छ । संक्रामक रोग ऐन २०२०, जनस्वास्थ्य सेवा ऐन २०७५, विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ र आवश्यक सेवा सञ्चालन ऐन २०१४ को आधारमा सरकारले स्वाथ्यमा आपतकालीन सेवा घोषणा गर्न सकिने व्यवस्था छ ।

विज्ञहरुले बताएअनुसार स्वास्थ्य संकटकाल राजनीतिक कारणले लाग्ने संकटकाल जस्तो हुँदैन् । स्वास्थ्य संकटकालको समयमा नागरिक हक र मौलिक हकमा प्रतिकुल असर नपर्ने गरी व्यवस्था गरिन्छ ।

स्वास्थ्य संकटकालको अवस्थामा सरकारले निजी क्षेत्रका संरचना तथा सम्पत्तिहरु केहि समयका लागि स्वामित्व लिन सक्छ । निजि अस्पताल, विद्यालय वा व्यक्तिको घर स्वास्थ्य प्रयोजनका निमित्त प्रयोग हुन सक्छन् ।

साथै संकटकाल लगाउँदा सरकारले के–कस्तो आदेश गर्छ त्यो कुरामा पनि भर पर्दछ । स्वास्थ्य समस्याका आधारमा सरकारले थप आवश्यक निर्णयहरु भने लिन सक्छ ।

वि.सं.२०७८ जेठ ६ बिहीवार १८:११ मा प्रकाशित

NABIL bank AD