Sansar News- Online for Global Nepali

चुनावी सरकारको मतदाता लोभ्याउने बजेट, यस्ता छन् बजेटका विशेषता

नारायणप्रसाद अर्याल
२ हप्ता पहिले
चुनावी सरकारको मतदाता लोभ्याउने बजेट, यस्ता छन् बजेटका विशेषता

जेठ १६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको कामचलाउ सरकारले गणतन्त्र दिवशको दिन (जेठ १५ गते) आर्थिक वर्ष २०७८/७९ बजेट घोषणा गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक अध्यादेश, २०७८, विनियोजन अध्यादेश, २०७८ र राष्ट्र ऋण उठाउने अध्यादेश, २०७८ एकसाथ जारी गरेपछि अर्थमन्त्री विष्णु पौडेलले शनिबार सिंहदरबारबाट बजेट सार्वजनिक गरेका हुन् ।

सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ बराबरको बजेट ल्याएको छ । अर्थमन्त्री पौडेलले चालूतर्फ ६ खर्ब ७८ अर्ब ६१, पुँजीगततर्फ ३ खर्ब ४७ अर्ब २६ करोड, वित्तीय व्यवस्थातर्फ २ खर्ब ७ अर्ब ९७ करोड र वित्तीय हस्तान्तरण तर्फ ३ खर्ब ८६ अर्ब ७१ करोड रुपैयाँ बजेट विनियोजन गरेका हुन् ।

के छन् बजेटका विशेषता ?

१. सामाजिक सुरक्षा भत्तामा बृद्धि

सरकारले आगामी आर्थिक वर्षबाट वितरण गरिने सबै प्रकारको सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशतले वृद्धि गरेको छ । योसँगै अब वृद्धवृद्धाहरुले मासिक ४ हजारका दरले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेछन् । सामाजिक सुरक्षा भत्ताको लागि सरकारले १ खर्ब बजेटको व्यवस्था गरेको छ ।

२. निःशुल्क कोरोना खोप

सरकारले सबै नेपालीलाई निःशुल्क रुपमा कोभिड –१९ विरुद्वको खोप (कोरोना खोप) लगाउने घोषणा गरेको छ । आर्थिक वर्ष ०७८/७९ को बजेटमा कोरोना खोप खरिदका लागि सरकारले २६ अर्ब ७५ करोड रुपैयाँको व्यवस्था गरेको हो ।

सरकारले आगामी आवमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै बजेट प्रस्तुत गरेको छ । जसमा विभिन्न अस्पतालहरुको पुर्वाधार निर्माण, सेवा विस्तारलगायतका कार्यक्रमहरु रहेका छन् । सरकारले आगामी आर्थिक वर्ष ०७८ र ७९ का लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि १ खर्ब २२ अर्ब ७७ करोड रुपैयाँ बराबर विनियोजन गरेको छ । यो गत आर्थिक वर्षको तुलनामा करिब ३२ अर्ब रुपैयाँ बढी हो ।

३.सशर्त अनुदानमा बृद्धि

आगामी आर्थिक वर्षमा सरकारले स्थानीय तहले सञ्चालन गर्नेगरि १ खर्ब ७३ अर्ब सशर्त अनुदान विनियोजन गरेको छ । त्यस्तै स्थानीय तहलाई समानीकरण अनुदान तर्फ ९४ अर्ब ५६ करोड रुपैयाँ विनियोजन गरिएको छ । प्रदेश सरकारहरुलाई सशर्त अनुदानतर्फ ३५ अर्ब ८७ करोड र समानिकरण अनुदान तर्फ ५७ अर्ब ९५ करोड विनियोजन गरेको छ । यो रकम प्राथमिक स्रोत तथा वित्तीय आयोगले निर्धारण गरेको सुत्रका आधारमा निर्धारण गरिएको सरकारले जनाएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षका लागि सशर्त अनुदानमा बृद्धि गरिएको बताए ।

४. कृषि क्षेत्रको बजेटमा बृद्धि

सरकारले आगामी वर्षमा सञ्चालन हुने कृषि तथा पशुपंक्षी कार्यक्रमको लागि ४५ अर्ब ९ करोड रुपैयाँको बजेट व्यवस्था गरेको छ । यो बजेट गत आर्थिक वर्षको तुलनामा चार अर्ब बढि हो । गत वर्ष उक्त क्षेत्रको लागि ४१ अर्ब ४० करोड विनियोजन गरिएको थियो । कृषि क्षेत्रअन्र्तगत १२ अर्ब रुपैयाँ मात्रै रासायनिक मल खरिद अनुदानको लागि व्यवस्था गरिएको छ । आधिकारीक बिक्रेताबाट बिउबिजन खरिद गरि उत्पादनमा सहभागी हुने किसानहरुलाई खरिदमा ५० प्रतिशत छुटको व्यवस्था गरिने बजेट भाषणको क्रममा अर्थमन्त्री पौडेलले बताएका छन् ।

सरकारले देशभरी बाँझो रहेका जमिनलाई कृषि प्रयोजनका लागि निजी क्षेत्रलाई उपलब्ध गराउने घोषणा गरेको छ । बाँझो जमिनलाई व्यवसायिक कृषि गर्ने उदेश्यले व्यवसायिक तथा निजि क्षेत्रलाई निश्चित मापदण्ड बनाएर प्रयोग गर्न दिईने बजेट मन्तव्यको क्रममा अर्थमन्त्री पौडेलले बताए ।

मन्त्री पौडेलका अनुसार कृषि क्षेत्रमा काम गर्ने वास्तविक किसानहरुले अनुदान प्राप्त गर्ने व्यवस्था गर्ने र कृषि क्षेत्रको थप विकास गर्नको लागि सरकारले आगामी आर्थिक वर्षमा ७१ वटा थप जोन सञ्चालन गर्नेछ । रासायनिक मल कारखाना निर्माणको गर्न चाहने निजी क्षेत्रलाई ५० प्रतिशत अनुदान दिने र दुध पाउडर निर्माण गर्नेसम्बन्धी कारखाना खोल्न चाहनेलाई ८० प्रतिशत सम्म पुँजीगत अनुदान उपलब्ध गराउने कार्यक्रम सरकारले बजेटमा समावेश गरेको छ । सरकारले आगामी आर्थिक वर्षमा उखु किसानलाई उपलब्ध गराउने अनुदान रकम भने कटौती गरेको छ । चालु आर्थिक वर्षमा उखु किसानलाई १ अर्ब २७ करोड खर्च गरिएकोमा आगामी आर्थिक वर्षको लागि भने जम्मा ८४ करोड रुपैयाँ विनियोजन गरेको हो ।

५. शिक्षा क्षेत्रको बजेटमा बृद्धि

शैक्षिक क्षेत्रमा आगामी आर्थिक वर्षमा खर्च गर्ने गरि सरकारले १ खर्ब ८० अर्ब ४ करोड रुपैयाँ रकम विनियोजन गरेको छ । यो शीर्षकमध्ये सबैभन्दा धेरै रकम हो । सरकारले आगामी आर्थिक वर्षमा सामुदायिक विद्यालयको नतिजामा आधारित शैक्षिक अनुदान उपलब्ध गराउने भएको छ । सरकारले सञ्चालन गर्दै आएको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको रकम बृद्धि गरि १० अर्ब रकम पु¥याएको छ ।

विभिन्न शैक्षिक विज्ञहरुले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई संघीयता विरोधी र निर्वाचनमुखी हुँदै आएको आरोप लगाएका छन् । सामुदायिक विद्यालयमा कक्षा ५ सम्म पढ्ने बालबालिकालाई दिवा खाजा उपलब्ध गराइने सरकारले घोषणा गर्ने जनाएको छ । त्यसको लागि सरकारले ८ अर्ब ३५ करोड विनियोजन गरेको छ ।

६.सांसद विकास र गरिबी निवारण कोष खारेज

सरकारले अहिले सांसदहरुले सञ्चालन गर्दै आएको सांसद विकास कोषको नाममा परिचित स्थानीय पुर्वाधार साझेदारी विकास कार्यक्रम खारेज गरेको छ । कोरोना महामारीमा केन्द्रित हुने भन्दै सरकारले उक्त कार्यक्रम खारेज गरेको अर्थमन्त्री पौडेलले बजेट मन्तव्यको क्रममा बताएका छन् । स्थानीय साझेदारी विकास कार्यक्रमअन्र्तगत प्रत्यक्ष निर्वाचित तर्फका सांसदहरुलाई सरकारले ६ करोड प्रदान गर्दै आएको थियो । त्यस्तै सरकारले लामो समयदेखि सञ्चालन हुँदै आएको गरिबी निवारण कोषको खारेज गर्ने निर्णय गरेको छ । भ्रष्टाचार र अनियमितताको आरोप खेप्दै आएको सो कार्यक्रम सरकारले बजेट भाषणमार्फत खारेज गरेको हो ।

७. कर्मचारीको तलब तथा भत्तामा बृद्धि

सरकारले आगामी वर्षको बजेटमार्फत कर्मचारीको तलबमा २ हजारले बृद्धि गरेको छ । सबै तहका कर्मचारीको समान आधारमा बृद्धि गर्ने निर्णय गरेको बजेट मन्तव्यमार्फत मन्त्री पौडेलले जानकारी दिएका छन् । त्यस्तै सरकारले कर्मचारीलाई उपलब्ध गराउँदै आएको महंंगी भत्तालाई निरन्तरन्ता दिने र कर्मचारीलाई लक्षित गरेर सहुलियत आवास कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

कर्मचारीहरुलाई लक्षित गरेर सरकारले वार्षिक १० दिन पर्यटन विदा दिने कार्यक्रम पनि घोषणा गरेको छ । त्यसरी दिइने बिदा तलबसहितको हुने बजेट मन्तव्यमार्फत जनाइएको छ । सरकारले आगामी साउनदेखि लागु हुने गरी प्रहरीको रासन भत्तामा बृद्धि गरेको छ । नेपाल प्रहरी र ससस्त्र प्रहरीले अहिलेदेखि पाउँदै आएको रासनभत्तामा १५ प्रतिशत बढि प्राप्त गर्नेछन् । सरकारले प्रहरीको रासनभत्ता ६ वर्षमा पहिलो पटक बृद्धि गरेको हो ।

८. रेलमार्ग र सुरुङमार्गलाई प्राथमिकता

सरकारले भौतिक आगामी आर्थिक वर्षको बजेटमा भौतिक पुर्वाधारको क्षेत्रमा विभिन्न आकर्षक कार्यक्रमलाई अगाडि बढाएको छ । भौतिक पुर्वाधार विकास तर्फ १ खर्ब ६३ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । पुर्वपश्चिम राजमार्ग विस्तार, मध्पहाडी राजमार्ग, हुलाकी राजमार्गलगायतका ठुला आयोजनामा आगामी आर्थिक वर्षमा थप काम हुने सरकारले जनाएको छ । त्यस्तै सरकारले आगामी आर्थिक वर्षमा उपत्यकामा १ सय वटा विद्युतिय बस सञ्चालन गर्ने जनाएको छ । रक्सौल काठमाडौं र काठमाडौं केरुङ रेलमार्ग सञ्चालनको लागि विस्तृत आयोजना प्रतिवेदन तयार गरिने बजेटमा उल्लेख गरिएको छ । सरकारले रेल यातायातको लागि १० अर्ब रकम विनियोजन गरेको छ । आगामी आर्थिक वर्षमा खर्च गर्ने गरि सरकारले चार अन्तराष्ट्रिय विमानस्थल तथा अन्य आन्तरिक विमानस्थल निर्माण गर्न कुल २० अर्ब ३१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

९. आयकर र भञ्सारतर्फ आकर्षक छुट

सरकारले साउनदेखि लागु हुने गरि २० लाखसम्म कारोबार गर्नेलाई आयकरमा ९० प्रतिशत, २० देखि ५० लाखसम्म कारोबार गर्नेलाई ७५ प्रतिशत र ५० लाख देखि १ करोडसम्म कारोबार गर्नेलाई ५० प्रतिशतसम्म छुट दिने घोषणा गरेको छ । कोभिडबाट अत्याधिक प्रभावित होटल, ट्राभल, चलचित्र उद्योग, सञ्चार, हवाई कम्पनीको कर योग्य आयमा एक प्रतिशत मात्रै आय कर लाग्ने व्यवस्था गरिएको छ । ती उद्योगले अब १० वर्षसम्म नोक्सानी सार्न पाउने भएका छन् ।

त्यस्तै सरकारले बिजुली कारमा लगाएको अन्तःशुल्क कर पनि खारेज गरेको छ । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले चालु आर्थिक वर्षको बजेटमा बिजुली कारमा अन्तःशुल्कसँगै भन्सार शुल्कमा निकै अस्वभाविक बढोत्तरी गराएका थिए । उनले ६० प्रतिशतसम्म अन्तःशुल्क बढाएका थिए । जसलाई अर्थमन्त्री पौडेलले उल्लेख्य रुपमा घटाएका छन् ।

सर्बाधिक पढिएको

राष्ट्रियसभा उपनिर्वाचन : बादल र देवकोटामध्ये कुनको सम्भावना कति ?

राष्ट्रियसभा उपनिर्वाचन : बादल र देवकोटामध्ये कुनको सम्भावना कति ? ४ हप्ता पहिले | संसार न्यूज़

जेठ ५, काठमाडौं । बागमती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य पदका…

एमालेभित्रका अर्का ४ भाइको आयो नयाँ वक्तव्य(हेर्नुहोस् पूर्ण पाठ)

एमालेभित्रका अर्का ४ भाइको आयो नयाँ वक्तव्य(हेर्नुहोस् पूर्ण पाठ) २ हप्ता पहिले | संसार न्यूज़

२० जेठ, काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेताद्वय झलनाथ खनाल…

एसडी मुनी भन्छन् – ओलीको सत्ता भारतको सहयोगमा चलेको छ (भिडियोसहित)

एसडी मुनी भन्छन् – ओलीको सत्ता भारतको सहयोगमा चलेको छ (भिडियोसहित) ३ हप्ता पहिले | संसार न्यूज़

जेठ १२, काठमाडौं । नेपाल मामलाका जानकार जेएनयूका प्राध्यापक एसडी…

डा .ओममूर्ति अनिलको सुझाव–दैनिक जीवनमा यी खानेकुरा बढी प्रयोग गर्नुहोस्

डा .ओममूर्ति अनिलको सुझाव–दैनिक जीवनमा यी खानेकुरा बढी प्रयोग गर्नुहोस् २ हप्ता पहिले | संसार न्यूज़

वरिष्ठ मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिलले दैनिक जीवनमा यी खानेकुरा…