back

के नेकपा भङ्ग प्रचण्डको कारण भएको थियो ?

वि.सं.२०७८ जेठ २४ सोमवार

108 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

जेठ २४, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि भन्दै आइतबार सार्वजनिक गरेको वक्तव्यमा तत्कालिन नेकपा भंग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कारण भएको बताएका छन् । उनले वक्तव्यमा सर्वोच्च अदालतको आदेशपश्चात निर्वाचन आयोगमा पुनः नयाँ नाम लिएर जाने सबालमा प्रचण्डले अनिच्छा देखाएको आरोप लगाएका छन् ।

‘२०७७ साल फागुन २३ गतेको सर्वोच्च अदालतको फैसला एकीकरण प्रक्रिया भंग हुनुको मुख्य कारण थियो भनेर कतिपयले टिप्पणी गर्छन् तर, यो यथार्थ होइन्, सर्वोच्च अदालतले त नेपाल कम्युनिष्ट पार्टीको नाम पहिल्यै निर्वाचन आयोगमा दर्ता रहेको हुनाले त्यससँग नाम जुध्ने गरी गरिएको दर्ता मिलेन भनेको हो, एकता कायम राख्ने भए नयाँ नाम प्रस्ताव गर भनेको हो’, वक्तव्यमा ओलीले भनेका छन्, ‘पार्टीको प्रथम अध्यक्ष हुनुको नाताले मैंले यसमा आफैं पहल पनि लिएको हुँ तर, पुष्पकमल दाहाल ‘प्रचण्ड’को अनिच्छाका कारण मेरो प्रयास सफल हुन सकेन ।’

ओलीले नेकपा बन्ने स्थीति नभएपश्चात मात्रै आफुँ एमालेलाई पुनर्गठन तर्फ लागेको उल्लेख गरेका छन् । उनका अनुसार नेकपालाई पुनर्गठन गर्न उनी अन्तिमसम्म नै प्रयास गरेका थिए ।

ओलीको आरोपप्रति प्रचण्डको आपत्ति

नेकपा भंगबारे ओलीले लगाएको आरोपप्रति प्रचण्डले भने आपत्ति जनाएका छन् । उनले ओलीको आरोप झुठ, भ्रामक र षडयन्त्रपूर्णं भएको टिप्पणी गरेका छन् । प्रचण्डले आरोपप्रति निन्दा र भत्र्सना पनि गरेका छन् ।

वक्तव्यमा ओलीले भनेको कुराप्रति प्रचण्डले भनेका छन्, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डको कारण एकताको प्रयास सफल नभएको भन्ने भनाइ झुठ, भ्रामक र षड्यन्त्रपूर्ण छ । त्यस प्रकारको अभिव्यक्तिको घोर निन्दा र भर्त्सना गर्दछु ।’

पुस ५ देखि नै विभाजित थियो नेकपा

तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ०७७ पुस ५ मा भएको अनपेक्षित संसद विघटनसँगै विभाजित बनेको थियो । ओलीले संसद विघटन गर्दै निर्वाचनको मिति तोकेसँगै दुवै पक्षले बेग्ला–बेग्लै केन्द्रीय समिति र स्थायी समितिको बैठक बसालेका थिए । दुवै पक्षले एकले अर्कोलाई कारबाहीसमेत गर्ने निर्णय गरेका थिए ।

तत्कालिन समय नेकपाको आधिकारिक पक्ष कुन हो भन्ने विषयमा देखिएको विवाद निकै पेचिलो बनेको थियो । अनिर्णयको बन्दीमा रहेको निर्वाचन आयोग फागुन २३ मा सर्वोच्च अदालतले ‘नेकपा नामको मुद्दामा’ गरेको फैसलासँगै सक्रिय बनेको थियो ।

फागुन २३ मा अदालतले ‘नेकपाको एकता नै नभएको’ भन्ने फैसला दिएको थियो । जसपश्चात निर्वाचन आयोगले एमाले र माओवादी केन्द्रलाई पूर्ववत अवस्थामा फर्किएको निर्णय सुनाउँदै चाहेमा पुनः एकता गर्न सक्ने बताएको थियो ।

ओलीले उल्लास मनाएका थिए फैसलामा

तत्कालिन समय अदालतको फैसलालाई ओली समूहले स्वागत गर्दै दिपावली नै गरेको थियो । अदालतको फैसलाप्रति प्रचण्ड–माधव समूहले भने ‘फैसला अनपेक्षित र अस्वभाविक’ भन्दै पुनरावलोकनमा जाने निर्णय गरेका थिए । अदालतको फैसलालगत्तै ओली एमालेलाई पुनर्गठित गर्न तर्फ जुटेका थिए भने प्रचण्ड–माधव समूह पुनरावलोकनमा जाने तयारीमा जुटेका थिए ।

ओलीले अदालतको फैसलाको भोलिपल्टैदेखि पार्टी कार्यालयको बोर्डसमेत परिवर्तन गराउन लगाएका थिए । ओली पार्टी पुनर्गठनतर्फ उत्साहपूर्णं रुपमा जुटेपछि कानून विद् र पार्टी नेताहरुको छलफलपश्चात बाध्यात्मक अवस्थामा माधव समूह एमालेमा फर्किएको थियो । अदालतले नेकपालाई भंग गराएसँगै प्रचण्ड र माधव समूहबीचको एकता पनि भंग भएको थियो ।

तत्कालिन समय माधव समूह साबिककै पार्टीमा फर्किने निर्णयमा पुग्दा प्रचण्ड भने अदालतको फैसला उल्ट्याउने गरि जाने एक सुत्रीय निर्णयमा पुगेका थिए । प्रचण्डले अदालतको फैसलाविरुद्व पुनरावलोकनको निवेदन पनि दिएका थिए । तर, अदालतले न्याय प्रशासन ऐन, २०७३ प्रतिकुल भएको भन्दै चैत १९ मा उनले दिएको निवेदन खारेज गरिदिएको थियो ।

अदालतले स्पष्ट रुपमै एमाले र माओवादीलाई साबिककै अवस्थामा ब्यूँताइदिएको थियो । तर माओवादी केन्द्र साबिककै अवस्थामा फर्किएको भए पनि ओलीले भने एमालेलाई साबिककै अवस्थामा फर्काएका छैनन् । एमालेभित्र अहिले देखिएको विवाद साबिककै अवस्था (०७५ जेठ २) मा फर्काउने वा नफर्काउने भन्नेमा छ ।

वि.सं.२०७८ जेठ २४ सोमवार १५:१० मा प्रकाशित

NABIL bank AD