एकसय बर्ष भन्दा लामो इतिहास बोकेको गैरीखेत त्यसक्षेत्रमै बढी उब्जनी हुने नामी खेत थियो । हरिबहादुरको परिवारको मुख्य आयश्रोतको माध्यम पनि त्यही खेत थियो ।
हरिबहादुर खेतको मैझारो गरिसकेपछि जीवनसाथी निर्मलासँग खुशीहुँदै भन्दै थिए–‘निर्मला, यसपाली पनि समयमै खेत रोपीसकियो एउटा मुख्यकाम किनार लाग्यो, होगी ।’
‘रोपाइँ त सकियो राम्रो भयो । तर खेतको बीचबाटै गाडीको बाटो खनिदैछ, म त किन हो गाउँमा विकास आएकोमा खुशी मनाउने कि नमनाउने दोधारमाछु । मनसुनको पनि भर छैन कहिले अतिबर्षा हुन्छ, कहिले खडेरी पर्छ ।’ निर्मलाले पतिलाई पुलुक्क हेर्दै मायालु नजर फ्याकिन् ।
मध्येरातबाट मुसलधारे वर्षा सुरु भयो । संचार माध्यमहरु एकहप्तासम्म मौसमीवर्षा हुने मौसम विभागको सूचना संप्रेषण गरिरहेका थिए ।
नभन्दै तेस्रो दिनसम्म पनि वर्षा रोकिएन । बाढीपहिरोले धेरैतिर क्षति पुर्याएको समाचारहरु आइरहेका थिए । तेस्रोदिनको साँझपख हल्ला फैलियो हरिबहादुरको गैरीखेतमा पनि बाढी र लेदो पसेर पूरै खेत पुरियो ।
आधाखेत पहिरोको कटानमा पर्यो ।
हरिबहादुरका जोईपोइ खेतको अवश्था देखेर स्तब्ध बने । उनीहरूका सुन्दर सपनाहरु बाढीपहिरोसँगै बगेर गएका थिए ।
दुबै जोईपोइ भेला भएका गाउँले र जनप्रतिनिधिलाई साक्षी राखेर एकसाथ चिच्याए ।
‘गाउँले दाजुभाइ तथा दिदीबहिनीहरु हाम्रो गाउँमा विकास भित्रिदै छ कि विनाश भित्रिदेै छ, हँ ।’
वि.सं.२०७८ असार २६ शनिवार ०७:०६ मा प्रकाशित