किन यस्तो ?
किन तिम्रो प्रहार मेरो कम्मरमा ?
छैन कतै मेरो गुहार ।
त्यसैले, घरीघरीको यो निर्मम प्रहार ?
मलाई पनि त दुख्छ ।
तिम्रो बञ्चरो कति धारिलो हँ !
टन्टलापुर घाममा
मैंले वर्षौं दिएको शीतल छहारी
एकै पलमा बिर्सने भएछौ
तिमी त साह्रै अगुणी रहेछौं नि ।
टन्टलापुर घामले थाप्लोमा कोर्रा बर्साउँदा
मैंले तिम्रो बाजेलाई दिएको शीतलताको
तिम्रो बा–सम्म पनि मनग्गे पुगेथ्यो ।
देखाएनन् बाले तिमीलाई
उनको शरीरभरि
मैंले छाडिराखेको सन्चोहरु हँ ?
मलाई थाह छ /एकदमै
थाह छ
तिमी लोभको बन्दी छौ ।
प्रलोभनले अन्धा छौ तिमी ।
त्यही अन्धो प्रलोभनको प्रभावमा
मेरो सन्तानको संहारमा
निस्केको छौ तिमी ।
हातमा विषालु बञ्चरो छ
धारिलो आरालाई
आतङ्कको ताण्डव नाप्ने
तिम्रो निर्दयी आदेश छ ।
हेर त !
घाम ताप्न निस्केको मुनाहरु
सबैलाई टुहुरो बनायौ । होइन
यी अबोधहरुको आँसुले
पिरेको बेला
पछुतो गर्ने समय पनि
हुनेछैन तिमीसँग ।
म जस्तो निरीहहरुको
ज्यान बेचेर
कमाएको तिम्रो वैभवलाई
मेरो श्राप लागेको दिन
तिम्रो महल
तासको घरजस्तै ढल्नेछ,
तिम्रा पनातिहरु
अक्सिजनको क्यूमा उभिन पर्नेछ ।
कति अक्षम्य अपराध छ तिम्रो !
त्यही अपराधको श्राप लाग्नेछ तिमीलाई
पक्कै लाग्नेछ ।।
वि.सं.२०७८ साउन २ शनिवार ०७:१२ मा प्रकाशित