Sansar News- Online for Global Nepali

अखण्ड आलापः विद्रोहको धुन

केशव पुडासैनी ‘विमल’
२ हप्ता पहिले
अखण्ड आलापः विद्रोहको धुन

कविता भावना, संवेग र विचारको कलात्मक अभिव्यक्ति हो । भावना, संवेग र विचारलाई संयोजन गरेर सुन्दर कााव्यिक चित्र तयार पार्न सिपालु कवि हुन्— मुक्तान थेबा । उनी नेपालको समकालीन कविहरुमध्ये प्रभावशाली र स्थापित कवि हुन् । यसको प्रमाण साङ्ग्रिला पुस्तक प्रा. लि. ले २०७५ असोजमा प्रकाशित गरेको उनको कविता सङ्ग्रह ‘‘अखण्ड आलाप” हो । बाह्य पृष्ठ (कभर पेज) सहित जम्मा १३६ पृष्ठ भएको यस कृतिको ११७ वटा पृष्ठमा विविध आयाम र विषयमा आलम्बित भएका ४१ वटा कविताहरु समावेश गरिएको छ । ‘गुर्जन गुरुजीको प्रश्न’ यस सङ्ग्रहको पहिलो कविता हो भने अन्तिम कविता हो— ‘आमा र आगो‘ । यसमा सङ्ग्रहित गरिएका कविताहरुमध्ये सबैभन्दा छोटो कविता—‘बल्छी’ (३ सर्ग, १६ शब्द) हो । संयुक्त कविता सङ्ग्रह ‘आफर” २०७३ मा आफ्नो कविता (‘उन्मुक्त पुस्ता” नामक साहित्य अभियानसँग आवद्ध आठजना साहित्यिक अभियन्ताहरुले लेखेका दलित समुदायमाथिका उत्पीडनसँग सम्बन्धित कविताहरुको सङ्ग्रह) प्रकाशित गरेर नेपालको प्रगतिवादी साहित्यिक रङ्गमञ्चमा प्रवेश गरेका थेबाले २०७५ मा तामाङ भाषामा लेखिएका कविताहरुको सङ्ग्रह ‘‘काकलिङ” प्रकाशित गरेका छन् । मुख्यतः सामाजिक तथा राजनीतिक व्यवस्थाले युगौंदेखि किनाराकृत गरिंदै आएका उत्पीडित जाति तथा आदिवासी/जनजातिहरुको पहिचान र अधिकारका मुद्दालाई केन्द्रीय भागमा राखेर लेखिएका विद्रोही कविताहरुको सङ्ग्रह ‘अखण्ड आलाप” उनको दोस्रो कविता सङ्ग्रह हो । यस कविता सङ्ग्रहमा सङ्ग्रहित गरिएका कविताहरु बारे कवि मुक्तान थेबा भन्छन्— ‘‘यस सङ्ग्रहभित्र स्वभाविक रुपमा विभेदकारी राज्य व्यवस्था विरुद्धको आक्रोश, आवेग, प्रतिरोधी र प्रतिपक्षी आवाज समेटिएको छ । (सम्झनु छ…. पृष्ठ–१२८।)”

अखण्ड आलापभित्रका कविताका प्रवृत्तिगत विशेषताहरुः
‘अखण्ड आलाप’ सङ्ग्रहमा सङ्ग्रहित कविताहरुले विषय–वस्तुका विविध प्रवृत्तिगत दृष्टिकोणका आयामहरु निर्माण गरेका छन् । तसर्थ प्रगतिवाद, राष्ट्रवाद र अन्तर्राष्ट्रियवादको त्रिवेणी हो— अखण्ड आलाप । यसमा राष्ट्रिय स्वाधीनता, सामाजिक न्याय, राजनीतिक स्वतन्त्रता, सर्वहारा वर्गीय विश्व क्रान्ति, सामाजिक, सांस्कृतिक विसंगति र विकृतिका विरुद्ध विचारहरु अभिव्यक्त गरिएका छन् । मुख्यगरीकन तामाङ जातीय पहिचान र यसको अस्तित्व रक्षाको सवाललाई सर्वाधिक महत्व दिएर सिर्जना गरिएका कविताहरुको वाहुल्यता यस सङ्ग्रहमा भएको भए तापनि यसमा नेपालका आदिवासी जनजाति, उत्पीडित समूदाय र लिङ्गको न्यायपूर्ण र विद्रोही आवाज बोकेका कविताहरुले यस सङ्ग्रहलाई बहुआयामिकताको रङ्ग प्रदान गरेको छ । तसर्थ यस सङ्ग्रहमा सङ्कलित कविताहरुलाई प्रवृत्तिगत विशेषता र आयामका आधारमा निम्न अनुसार उल्लेख गर्नु उपयुक्त देखिन्छः

१. दलित जातिमाथिका उत्पीडनसँग सम्बन्धित कविताः
‘अन्तर्राष्ट्रिय जात’, ‘बाङ्गे सार्की, ‘जन्तरेदाइको बन्चरो, ‘मानसिङलाई सम्बोधन’, ‘बौलाहा मनु’ र ‘खलाँती’ कविताहरु दलित जातिमाथिको उत्पीडिनका विषयमा आलम्बित कविताहरु हुन् । नेपालको भौगोलिक सीमा विस्तार र एकीकरणको लडाइँमा नेपालका सबै जातजातिका मानिसहरुले रगत, पसिना र प्राणको आहुति दिएका थिए भन्ने ऐतिहासिक सत्यलाई अस्वीकार गर्दै खास जाति र वर्गका मानिसहरुले मात्र यस अभियानमा योगदान पु¥याएका थिए भन्ने जसरी इतिहासलाई लिपिवद्ध गराउने कार्य गरियो त्यस कार्यप्रति विरोध जनाउँदै लेखिएको कविता हो— ‘बाङ्गे सार्की’ । गहिरो र जिम्मेवारीपूर्ण तबरले ऐतिहासिक घटनाहरुको तथ्यसङ्गत अध्ययन गर्ने र प्राप्त ज्ञानको आधारमा इतिहास लेख्नुपर्ने दायित्वबाट वञ्चित भएकाहरुले लेखेको झुठो इतिहासलाई च्यातेर वास्तविक इतिहास लेख्नु पर्ने आवश्यकतालाई यस कवितामा औंल्याइएको छ । बाङ्गे सार्की त एउटा बिम्बमात्र हुन् । इतिहासको गर्तबाट उधिन्नुपर्ने हजारौं बाङ्गे सार्कीहरुको जीवन्त कथा हो यो कविता । यसैगरी युग परिवर्तनको निम्ति भनेर लडिएको महासमरका कमाण्डरले धोखा दिएर अलपत्र पारेका उत्पीडित समुदायको पीडा र आक्रोशको काव्यात्मक अभिव्यक्ति— ‘खलाँती’ कविता हो भने कारुणिक जिन्दगी बाँच्दै आएका निमुखा दलितहरुको कथा हो— ‘‘जन्तरे दाइको बन्चरो ।”
भारतीय उपमहाद्वीपमा धार्मिक र पौराणिक दृष्टिकोणलाई आधार मानेर मानव जातिलाई ब्राह्मण, क्षेत्री, वैश्य र शुद्र गरी चार भागमा विभाजन गरी सामन्तवादी सामाजिक, आर्थिक र राजनीतिक आधारलाई मजबुत बनाउन मुख्य भूमिका खेल्ने ‘‘मनुस्मृति” शास्त्रका रचयिता मनुप्रति तीव्र आक्रोश पोखिएको कविता हो— ‘बौलाहा मनु’ । मनुले समाजका सबैभन्दा धेरै सिर्जनशील, मिहनेती र श्रमजीवी मानिसहरुलाई अछूत घोषणा गरेर शोषण र उत्पीडनको पक्षपोषण गर्ने मानिसका समूहलाई कसरी उत्कृष्ट र उच्च जातको भनी विभाजन गरे भन्ने कुरा प्रतिबिम्बन गरिएको छ यस कवितामा । यसैगरी हरेक राजनीतिक परिवर्तन र निर्वाचनपछि पनि गरिब दलित जातिमाथिका सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक भेदभाव र उत्पीडन जस्ताको तस्तै रहेको यथार्थ चित्रण गरेको छ कविता— ‘मानसिङलाई सम्बोधन !’ ले । राजनीतिक पार्टी र तिनका नेतृत्वहरुले आन्दोलन र निर्वाचनका दौरानमा दलितहरु सामु बाँड्ने गरेका झुठा आश्वासनलाई तिरस्कार गर्दै राजनीतिक तथा सांस्कृतिक जागरण फैलाउँदै राजनीतिक आन्दोलनको नेतृत्व दलित आपैंmले गर्नुपर्ने सन्देश यस कविताले प्रवाहित गर्ने प्रयास गरेको छ ।

२. तामाङ्ग जातीय राष्ट्रवादसँग सम्बन्धित कविताः
‘सभ्यताको बाह्रखरी’, ‘ग्याल्सरी दोर्जे’, ‘आगोफुल्ने रुख’, ‘पुजु’, ‘आङ्गी र आइरक पोङ’, ‘काकलिङ’ ‘मुस्लो जवाफ’, ‘पाल्तेन आस्याङ’ र ‘ऊ बिउँझेको समय’’ कविताहरुले तामाङ जातीय समुदायमाथिका आर्थिक तथा सांस्कृतिक उत्पीडनले निर्माण गरेको मनोविज्ञानलाई प्रतिविम्बित गरेका छन् । तामाङ जातीय पहिचानका विषयसँग सम्बन्धित कविता हो— ‘सभ्यताको बाह्रखरी’ । जातीय संस्कृति प्रेमलाई उच्च महत्व प्रदान गरिएको यस कवितामा अतिक्रमित हुँदै आएको आदिवासी जनजातीय पहिचानको रक्षाको प्रश्न आदिवासी जनजातिका जातीय अस्तित्वसँग सम्बन्धित रहेको हुन्छ भन्ने दृष्टिकोण व्यक्त गरिएको छ । प्राचीन इतिहासको कुनै कालखण्डमा संसारका मानव जातिका सह–गोत्रीय र कविला प्रकारको समाज व्यवस्था थियो । तर मानव सभ्यताको विकास हुँदै आउँदा यस्ता गणसमाजहरु धेरैजसो विखण्डित हुने वा अन्य गणसमाजसँग एकीकृत हुन जाने प्रक्रिया चल्यो । तामाङ् जातिका पनि नेपाल भूमिका विभिन्न स्थानहरुमा तामाङ राज्य रहेको र ती राज्यका राजाहरुलाई छलकपटपूर्ण किसिमले हत्या गर्दै एकीकृत नेपालको जग हालिएको हो भन्ने मिथकलाई वास्तविकताको रुपमा स्वीकार्दै तामाङ जातिको गुमेको राज्य पुनः स्थापना गर्नुपर्ने आवाज ‘ग्यालसरी दोर्जे’ भन्ने कविताले बुलन्द गरेको छ । तामाङ जातिले राणा–शासकले चढ्ने गाडी भीमफेदीदेखि काँधमा बोकेर काठमाडौं शहरमा राणाका दरबारको पटाङ्गिनीमा बिसाउँदा खेप्नु परेको सास्तीको कथा छ– ‘‘ऊ बिउँझिएको समय” कवितामा । यसैगरी बीचमै तुहाइएको सर्वहारा वर्गीय राजनीतिक आन्दोलनको कथा बुनिएको कविता— ‘पाल्तेन आस्याङ’ हो भने जातीय अस्तित्ववादी दृष्टिकोणलाई अभिव्यक्त गर्ने कविताहरु हुन्— ‘पुजु’, ’आङी र आइरक पोङ’, ‘काकलिङ्’ र ‘मुस्लो जवाफ’ । यी कविताहरुमा कविले आदिवासी जनजातीय अस्तित्ववादी दृष्टिकोण अघिसारेका छन् ।

३. अल्पसंख्यक आदिवासीसँग सम्बन्धित कविताः
अल्प संख्यक जाति, जनजातिहरुका आर्थिक, समाजिक र राजनीतिक अवस्था र आकांक्षाहरुलाई प्रतिबिम्बित गरिएका कविताहरु हुन्— ‘माइजन र जाबरहरु’, ‘हिफाजत मियाँ’ र ‘आन्द्राको सुरुङ’ । राज्य–सत्ता होस् वा जातीय र सांस्कृतिक सत्ता, यी सबैको सार निरङकु्शता र शोषण नै हो । कतिपय सन्दर्भमा राजकीय सत्ताभन्दा सामाजिक र सांस्कृतिक सत्ता जुनसुकै जाति र वर्गको नेतृत्वमा रहेको भए पनि त्यो त्यतिकै जनउत्तरदायी विमुख र दमन र उत्पीडनकारी हुँदो रहेछ, जति राजकीय सत्ता हुने गर्दछ भन्ने कुराको सजीव दृष्टान्तको प्रतिरुप हो— ‘माइजन र जाबरहरु’ कविता । यस कवितामा नेपालको तराई भेगका कतिपय जिल्लामा रहेका गरिब अछूत (डोम) जातिको सामाजिक सांस्कृतिक सत्ताको चरित्रलाई अभिव्यक्त गरेको छ यस कविताले । आप्mनै जातीय सामाजिक सांस्कृतिक सत्ताको बागडोर आफ्नै जातीका अगुवाको हातमा भए पनि माइजन र जाबर सहित सिङ्गो डोम समुदाय देशको राजकीय सत्ताबाट गरिएको शोषण र उत्पीडनको विरुद्धमा उत्रिन यस कविताले डोम समुदायलाई आव्हान पनि गरेको छ ।

५. महिला उत्पीडनसँग सम्बन्धित कविताः
महिलामाथिको उत्पीडनका विविध आयामबारे चर्चा गरिएको कविताहरु हुन्— ‘बहिनी नमुना र श्रद्धा’, ‘म नौरती शाही’ र ‘कागतीको बोट’ । धर्म र संस्कृतिको आडमा हुँदै र गरिंदै आएका उत्पीडन र अमानवीय अवस्थाको प्रस्तूती— ‘कागतीको बोट’ कवितामा गरिएको छ । महिलाहरुलाई विज्ञापन र मनोरञ्जनको साधन बनाउन उद्दत पुँजीवाद र पितृसत्तावादको प्रतिछायाँ कसरी नेपालको नारी मुक्ति आन्दोलनको निम्ति क्रियाशील भनिएका संघ–संस्था र तिनका नेतृत्व तहमा समेत टाँसिएर बसिरहेको छ भन्ने कुरालाई व्यङ्ग्यात्मकशैलीमा प्रस्तुत गरिएको कविता हो— ‘बहिनी नमुना र श्रद्धा ।’ यसैगरी नेपालको पश्चिमी क्षेत्रमा नारीहरुमाथि सामाजिक र सांस्कृतिक उत्पीडिनको पहाड कति अग्लो छ भन्ने कुरा ‘म र नौरती शाही” कविताले अभिव्यक्त गरेको छ । ‘‘छाउगोठ प्रथा” र त्यसले त्यस भेगका नारीहरुमाथि थोपरिएको सांस्कृतिक उत्पीडनको कथा बुनेको छ यस कविताले ।

६. दार्शनिक दृष्टिकोणसँग सम्बन्धित कविताः
‘अखण्ड आलाप’, ‘नदी र फुसको छानो’, ‘खतरनाक छ— मान्छेभित्र मान्छे नहुनु, ‘कमिला राज्य’ र ‘लगाम’ कविताहरुले दार्शनिक दृष्टिकोण प्रवाहित गर्ने प्रयास गरेका छन् । ‘अखण्ड आलाप’ यो कविता सङ्ग्रहको शीर्षक कविता हो । सङ्ग्रहभित्र १६ औं स्थानमा उभिएको छ । यस कवितामा व्यष्टि र समष्टिको द्वन्द्वात्मक सम्बन्ध प्रस्तुत गरिएको छ । हरेक एकलाई खण्ड–खण्डमा विभाजित गर्ने र ती खण्डहरुको आपसी संयोजनलाई एक पूर्ण वस्तुको रुपमा स्वीकार गर्ने द्वन्द्वात्मक भौतिकवादलाई आलम्ब मानेर सिर्जना गरिएभैंm आभास हुने यो कवितामा कविले आफ्नो देशलाई विभिन्न खण्डहरुको एकत्वको रुपमा स्वीकार गरेकाछन् । देशलाई विभिन्न खण्डहरुको एकत्वको रुपमा स्वीकार नगर्नेहरु देशकै एकल अस्तित्वको निम्ति सबैभन्दा धेरै खतरनाक हुन्छन् भन्ने दृष्तान्त विम्बात्मक किसिमले प्रस्तुत गरेका छन् । उनी भन्छन्—
‘सबैभन्दा खतरा त
उसको खण्ड–खण्ड मगजभित्र
अखण्ड विष रोप्ने
विखण्डनकारीहरुसँग हो । (अखण्ड आलाप, पृष्ठ– ५५ ।)

यसैगरी ‘खतरनाक छ— मान्छेभित्र मान्छे नहनु’ कविता मानवजगतमा ओइलाउँदै गइरहेको विवेकपूर्ण चेतना, चिन्तन र व्यवहारकोे कारणले मानव जातिको सारहीनताप्रति चिन्तित भएर मानवजगत र पशुजगतकाबीचमा तुलना गर्दै बृहत् विश्व–दृष्टिकोणलाई अँगालेर लेखिएको कविता हो । वर्गीय शोषण र उत्पीडनको जाँतोले युगौंदेखि पिंसिदै आएको भए पनि उत्पीडनकारी र शोषकहरुका विरुद्ध संघर्ष भन्दा पनि भक्तिभाव प्रस्तुत गर्दै आइरहेका अचेत श्रमजीवी र उत्पीडित वर्ग समूदायको चरित्र चित्रण गरिएको कविता हो— ’लगाम’ । यस कविताले वर्गीय उत्पीडिनका विरुद्ध विद्रोह र स्वतन्त्रताको निम्ति राजनीतिक क्रान्ति चेतको अपरिहार्य ठानिएको यो कविताले पनि बृहत् क्रान्तिकारी विश्व दृष्टिकोणलाई आत्मसात गरेको छ ।

खोला किनारमा झुप्राबस्ती बसालेर प्राण पखेरु धान्दै आएका गरिबहरुका दुःखमा हरेक बर्खा आउने बाढीले विचल्ली बनाउने गरेको मार्मिक यथार्थ चित्रण गरिएको कविता हो— ‘नदी र फुसको छानो’ । हरेक साल आउने बाढीले गरिबका घरबास उठाएर जान्छ, तर त्यो विपतको घडी सत्तासिन र तिनका सहयोगीहरुको निम्ति उत्सव बन्ने गरेको तीतो सत्य प्रतिबिम्वित गरिएको छ यसमा । यसैगरी ‘कमिला राज्य’ कवितामा श्रमजीवी वर्गको वर्ग बन्धुत्वको प्रतिबिम्ब टाँसिएको कविता हो । यसमा श्रमजीवी वर्गलाई कमिलाजस्तै मिहनेती, गतिशील र सामुहिक बसाइ र कर्ममा आफ्नो जातिको रक्षा र अस्तित्व देख्ने श्रमजीवी वर्गको चरित्र र तिनका उदात्त भावनालाई अनुभूत गर्न सकिन्छ ।

७. राजनीतिक विसङ्गतिसँग सम्बन्धित कविताः
‘मुस्लो जवाफ’, ‘अनागरिक, ‘घोसे’, ‘बल्छी’, ‘टपरे कान्छा’ र ‘कारखाना’ कविताहरुले नेपालको राजनीतिक विसङ्गतिलाई अभिव्यक्त गरेका छन् । ‘बल्छी” कविता गड्यौलाको प्रवृत्ति र नियतिलाई आधार बनाएर लेखिएको छोटो कविता हो । यसमा गलत नियत र कुचेष्टा भएका व्यक्तिले आप्mनो स्वार्थको निम्ति कसरी कमजोर र सिधासाधु मानिसहरुलाई प्रयोग गरिरहेका छन् भन्ने कुराको दृष्टान्त प्रस्तुत गरिएको छ । विश्वको सर्वहारा वर्गीय क्रान्तिमा हुर्कंदै आएको क्रान्तिकारी अवसरवाद र वर्गसमन्वयवादी प्रवृत्तिलाई उजागार गरिएको कविता हो— ‘हलो ।’ राजनीतिक क्रान्तिका अधुरा सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गरिएको कविता हो— ‘हिफाजत मियाँ‘ । नेपालको विगतका राजनीतिक आन्दोलन र क्रान्तिमा जुन उद्देश्य प्राप्तिको निम्ति योद्धाहरुले आप्mनो जीवनको कुर्वानी गरेका थिए, तर धोकेवाज नेतृत्वको सम्झौता परस्त र आत्मसमर्पणवादी चरित्र र व्यवहारका कारण ती उदेश्य अधुरै रहन पुगेको यथार्थतालाई सुन्दर किसिमले व्यक्त गरिएको छ यसमा ।
‘टपरे कान्छॉ कविता समाजको सबैभन्दा धेरै गरिब र श्रमजीवी मानिसका दैनिक जीवन गाथाको विराट र कारुणिक चित्र हो । बेलाबखत देशको शासन व्यवस्थाको नाम र शासकका पुराना अनुहारकाबीच केही नयाँ अनुहार थपिए पनि गरिबहरुको अँध्यारो जीवनमा अलिकति पनि सुखको किरण पर्न सकेन । त्यसैले बाँच्नको निम्ति प्राकृतिक सम्पदामा आश्रित हुनुपर्ने, रुखका पातहरु र कन्दमुलसँग जीवन साट्नु पर्नेहरुका दर्दनाक कथा बोकेको छ यसले । मानिस स्वयम विवेकशील प्राणी भएर पनि नेपालको राजनीतिक पार्टी सङ्गठनमा लागेका मानिसहरुको स्वभाव प्रायः नेतृत्वको सँधैसँधै भक्तिभाव गाउन चाहने दास मनोवृत्तिका कार्यकर्ता र आफूले गरेका सबै प्रकारका नैतिक–अनैतिक क्रियाकलापप्रति सदैव भक्ति–गीत गाइरहन चाहने कार्यकर्ताहरुको खोजीमा भौंतारिरहने नेपालका राजनीतिक पार्टीका नेताहरुको मानसिकतालई सुन्दर ढङ्गले प्रतिविम्बित गरिएको कविता हो— ‘कारखाना’’ । यसैगरी ‘घोसे’ कविताले समकालीन नेपाली शासकहरुका राजनीतिक, प्रशासनिक क्षमताहीनता र त्यसले देश जनताको जीवनमा पारेका नकारात्मक प्रभावलाई उजागार गरेको छ । जसरी घोसे हलोले खेतबारीलाई ठिक तरिकाले जोत्न सक्दैन, त्यस्तै घोसेहलोजस्तै शासकहरुले सही किसिमबाट देशको शासन–प्रशासन सम्हाल्न सक्दैनन् भन्ने वास्तविकता विम्बात्मक किसिमले व्यक्त गरिएको छ यो कवितामा ।

८. क्रान्तिकारी कविताः
‘अँगालो’, ‘प्रिय अनेकोट’, ‘नपत्याउन सक्नु हुन्छ’, ‘हलो’, ‘उधारो, ‘आमा र आगो’ कविता विद्रोही प्रवृत्तिमा आवृत्त भएका कविताहरु हुन् । ‘अनेकोट’ कवितामा विद्रोह र प्रतिरोध र निरन्तर क्रान्तिको सन्देश प्रवाहित गरिएको छ । अस्तित्व रक्षाको निम्ति निरन्तर गर्दै आएको उत्पीडित जनजातीहरुका कथा हो— ‘नपत्याउन पाउनुहुन्छ’ कविता । यसैगरी ‘उधारो’ कविता नेपालको राजनीतिक तथा सामाजिक जीवनमा क्रान्तिकारी परिवर्तन ल्याउनको अन्तिम विजयको निम्ति अन्तिम विद्रोहको तयारी गरिरहेका छौं भन्दै उत्पीडित र क्रान्तिकारी वर्ग समूदायलाई क्रान्तिको नाममा झुटा आश्वासन दिने र अल्मल्याउने प्रवृत्ति प्रतिको तीखो व्यङ्ग्य हो । आगो बिम्बले विद्रोह र क्रान्तिको भाष्य अभिव्यक्त गर्छ । त्यसैले ‘आमा र आगो’ कविता ले नेपालको राजनीतिक आन्दोलन र क्रान्तिको हविगतको यथार्थ चित्रण गर्ने प्रयास गरेको छ । क्रान्तिमा आफै सहभागी हुनुपर्ने वर्गरसमूदाय सहभागी नहुने र अरुले नै विद्रोह र क्रान्ति गरिदिए हुन्थ्यो भनेर अर्ती–उपदेश दिने, क्रान्तिको निम्ति अघि बढेको आन्दोलनका नेतृत्वले आन्दोलन र क्रान्तिलाई अन्तिम गन्तव्यमा पु¥याउन नसकेर सम्झौताहरुमा टुुङ्ग्याइएको आन्दोलन र क्रान्तिको उपलब्धिसमेत रक्षा गर्नुपर्ने दायित्व वहन गर्न नसक्ने नेतृत्वका चरित्रको यथार्थपरक चरित्र चित्रण यसमा यसरी गरिएको छ—
‘मेरी आमाले विद्रोह कलिल्यै गर्नु भएन
सबै दुःखहरु मौन सही दिनु भयो ।
.. . . . . . . . . ..
आमाले भन्नु भयो—
‘‘आजसम्म जजसलाई आगो दिएँ
सबैले आधा बाटोमै निभाएर आए । (आमा र आगो, पृष्ठ–१२५–२६ ।)

४. समसामयिक कविताः
‘गुर्जन गुरुजीको प्रश्न’, ‘डोल्मा नहाँसे त’, ‘ऊ बिउँझेको समय’, ‘अनागरिक’, ‘फर्सीको मुन्टा र तकारी बाजे, ‘गोठाला’, ‘अङ्गालो’, जस्ता कविताहरु विविध समसामयिक विषयमा केन्द्रित भएका कविताहरु हुन् । ‘गुर्जन गुरुजीको प्रश्न’ कविता नेपालको समकालीन समाजको चित्र हो । यात्रुवाहक मोटर गाडी चलाउने गुर्जन गुरुजीको मोटरमा चढ्ने यात्रीहरु र तिनका मनोदशालाई यस कवितामा चित्रण गरिएको छ । उसको मोटर चढ्ने विद्यार्थी, बूढोमास्टर, डाक्टर, वकिल र मन्त्रालयको सुब्बा साप्को मनोदशा र एउटा साधारण गाडी चालकको मनोदशालाई सुक्ष्म किसिमले कवितामा प्रतिविम्बित गरेका छन् । मन्त्रालयको सुब्बालाई मात्रै आफनो गन्तव्यमा पुग्न हतारो छैन । मन्त्रालय देशको प्रमुख प्रशासनिक अड्डा हो । प्रशासनिक अड्डाको जिम्मेवारी सम्हालेर बस्नेहरुलाई आफनो कार्यालयमा ठिक समयमा पुग्न हतारो नहुनुले नेपालको प्रशासनिक क्षेत्रको हविगतलाई प्रष्ट पारेको छ । तसर्थ यस कविताले नेपालको प्रशासनिक क्षेत्रको विसङ्गति र ढिलासुस्तीको प्रवृत्तिलाई यसरी उजागार गरेको छ—
‘‘मन्त्रालयको उही सुब्बा साब्
चढ्ने छ ऊ पनि मेरै मोटर
र, खेल्न थाल्ने छ क्यान्डिक्रस
बीच–बीचमा चिच्याउने छ ऊ
‘ए भाइ, अलि बिस्तारै चला
यति चाँडै मर्ने मन छैन हामीलाई ।” (गुर्जन गुरुजीको प्रश्न, पृष्ठ–१२)

भरियागिरी गरेर बाँच्नेहरुको निश्छल चरित्रको चित्रण हो— ‘डोल्मा नहाँसे त’ कविता । यसरी आफनै श्रम–पसिनामा बाँच्दै आएका श्रमिकहरु जीवनयात्रामा आइपर्ने सुख–दुखका हरेक उकाली ओरालीमा पसिनाले लछप्पै भिजेको अनुहारलाई हाँसोका रङ्गले उज्यालो बनाउँछन् र मानिसहरुलाई आफ्नो पौरखमा बाँच्न र रम्नको निम्ति उत्प्रेरित गर्छन् भन्ने कुरा भरियागिरीमा पारिवारिक गुजारा चलाउँदै आएकी डोल्माको चरित्रचित्रणबाट अभिव्यक्त गरिएको छ । ठूलो बलीदानी पछि स्थापना भएको देशको समाजाद उन्मुख गणतन्त्रको सारहीनता प्रस्तुत गरिएको कविता हो— अनागरिक । गरिब, निमुखा र सडकछापे मानिसहरुको अस्तित्व अस्वीकार गर्ने यो गणतन्त्रको अनुहार चित्रण गरिएको कविता हो यो । कुकुरलाई बिम्ब बनाएर सिर्जना गरिएको छोटो कविता हो— ‘गोठाला’ । यस कवितामा शहरका धनाढ्य वर्ग गाउँका श्रमजीवी वर्गका मानिसहरुलाई घृणा गर्ने र विविध प्रकारले उनीहरुमाथि उत्पीडन गर्ने गर्छन् तर यी शहरीया उच्च वर्गलाई उनीहरुकै घरमा पालिएका कुकुरले गोठालो बनाउँछ भन्ने कुरा व्यङ्ग्यात्मक ढङ्गले प्रस्तुत गरिएको छ । सुखी र खुशी जिन्दगीको खोजीमा सपनाको शहरझै लाग्ने काठमाडौं शहरमा भौंतारिंदै जिन्दगीको दुःख काटिरहेकाहरुको कारुणिक गाथा हो— ‘फर्सीको मुन्टा र तरकारी बाजे’ । यसरी विविध आयामहरु भएका सुन्दर कविताहरुबाट निर्मित प्रतिरोधी चेतनाको संवाहक विद्रोहको धुन बन्न सफल भएको छ— ‘अखण्ड आलाप’ ।

निष्कर्षः
हरेक साहित्यिक सिर्जनाहरु खास विचार र दृष्टिकोणको प्रवाहको माध्यम हुन् । ‘‘अखण्ड आलाप” ले मूलभूत रुपमा अल्प सङ्ख्यक जातीय समुदायमाथि भएका आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक शोषण र उत्पीडनका विषयलाई विविध कोणबाट काव्यात्मक लयमा अभिव्यक्त गरेको छ । अधिकांश कविताहरु तामाङ जातिको जातीय पहिचानको मुद्दासँग एकाकार भएर उभिएका छन् । जुनसुकै जातजातिको बाहुल्यता भएको समाज भए पनि सारमा आजको नेपालको सम्पूर्ण समाजको आधारभूत चरित्र वर्गीय नै छ र यो वर्गीयताको आधार भनेको आर्थिक असमानता नै हो । वर्गीय समाजमा समान आर्थिक अधिकारको प्राप्ति र त्यसको रक्षाबिना उत्पीडित वर्ग– समूदायको वास्तविक अर्थको राजनीतिक र सांस्कृतिक अधिकार प्राप्त हुन सक्दैन । आर्थिक समानताबिनाको राजनीतिक तथा सांस्कृतिक समानता र स्वतन्त्रताको माग वास्तवमा उत्पीडनकारी शासक वर्गकै राजनीतिक र आर्थिक माग र मुद्दा बन्न पुग्दछन् । यस्ता माग र मुद्दाले देशका उत्पीडित जन–समुदायलाई वर्गीय राजनीतिक चिन्तन, राजनीतिक परिवर्तनको आन्दोलनमा आबद्धता र सङ्घर्षको मार्गबाट धेरै पर राखिदिन्छ । यस अवस्थामा उत्पीडनकारी शासन व्यवस्था विरोधी राजनीतिक सङ्घर्ष कमजोर बन्न जान्छ । वास्तवमा अलग भाषा, अलग संस्कृति, अलग नश्लीय सुद्धता र हरेक नश्लीय सुद्धताको आधारमा सामाजिक र राजनीतिक इकाईको निर्माणको चाहना विश्व सर्वहारावर्गीय क्रान्ति र मानवतावादको विपरित चाहना हो ।

धनी र गरिब, शोषक र शोषित, छूत र अछूत, आप्रवासी र आदिबासी, शासक र शासित, हिमाल र पहाड, पहाड र तराई, समुद्र वारि र समुद्र पारि, एक भाषा र अर्को भाषा, एक संस्कृति र अर्को संस्कृति, एक रङ्ग र अर्को रङ्ग, एक देश र अर्को देशजस्ता आपसमा विपरित चाहना र प्रवृत्तिगत लगावमा विभक्त भएको वर्तमान मानव चिन्तन र व्यवहारबीचको खाडल पुर्नको निम्ति एउटा महान् वैचारिक, सांस्कृतिक र राजनीतिक क्रान्तिको आवश्यकता बोध गरिएको कविताहरुको सङ्ग्रह हो— ‘‘अखण्ड आलाप” । यस सङ्ग्रहले कवि मुक्तान थेबा समकालीन नेपालको प्रगतिवादी कविहरुको माझमा प्रभावशाली कविको रुपमा स्थापित हुन आइपुगेका छन् ।

अन्त्यमा, हरेक जातिभित्र रहेका उत्पीडनकारी शासक तत्वको तथा शासकीय चरित्रको विरोध गर्नु र सम्पूर्ण जात तथा जातीय समूदायमा रहेका उत्पीडित वर्ग समूदायलाई साझा राजनीतिक इकाई, साझा आर्थिक अधिकार र साझा संस्कृति निर्माणको निम्ति आगामी दिनहरुमा कवि मुक्तान थेवाबाट अझ सुन्दर र गहकिला साहित्यिक कृतिहरुको सिर्जना होस् भन्ने अपेक्षा राख्दछु ।
२०७८—०३—२८
(समाप्त)

 

 

 

 

 

सर्बाधिक पढिएको

ओलीतन्त्रको समिक्षा र देउवाको चुनौती

ओलीतन्त्रको समिक्षा र देउवाको चुनौती ३ हप्ता पहिले | नीलकण्ठ तिवारी

सबै कुरालाई हाँसीमजाकमा लिने निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बडो…

ओली बिनाको पार्टी एकताको तयारी गर्दै प्रचण्ड र माधव, को–को हुँदैछन् सहभागी ?

ओली बिनाको पार्टी एकताको तयारी गर्दै प्रचण्ड र माधव, को–को हुँदैछन् सहभागी ? ३ हप्ता पहिले | संसार न्यूज़

असार ३०, काठमाडौं । राजनीतिक घटनाक्रम फेरिएसँगै एक ठाउँमा उभिएका…

माधव पक्षीय कार्यदलमै विवाद : गोकर्ण र सुरेन्द्र एकातिर, घनश्याम अर्कोतिर

माधव पक्षीय कार्यदलमै विवाद : गोकर्ण र सुरेन्द्र एकातिर, घनश्याम अर्कोतिर ४ हप्ता पहिले | समर शर्मा

असार २४, काठमाडौं । एमाले विवाद समाधान उन्मुख भएको चर्चा…

नेपालीहरु ठगिएको गुनासो बढ्न थालेपछि कतारस्थित नेपाली दूतावासले जारी गर्यो यस्तो सूचना

नेपालीहरु ठगिएको गुनासो बढ्न थालेपछि कतारस्थित नेपाली दूतावासले जारी गर्यो यस्तो सूचना ४ हप्ता पहिले | संसार न्यूज़

१८ असार, कतार । कतारस्थित नेपाली दूतावासले डिजिटल ठगीबाट बच्न…