Sansar News- Online for Global Nepali

समाजवादको आधारशीला र बि.पि कोइराला

लोककृष्ण भटराई
२ हप्ता पहिले
समाजवादको आधारशीला र बि.पि कोइराला

नेपाली सभ्यता राष्ट्रिय जागरण र जनतालाई अधिकार सम्पन्न गराउने लोकतान्त्रिक आन्दोलनको सर्वाधिक चर्चित नाम हो वि.पी. कोइराला । यिनी वि.सं. १९७१ मा भारत बिहारको सहर्षा जिल्लामा कृष्णप्रसाद कोइराला र दिव्या कोइरालाबाट जन्मिएका थिए । यिनका पितालाई हालको सिन्धुली जिल्लाको दुम्जामा सबभन्दा अग्लो घर बनाएको भनेर सिन्धुली जिल्लाबाट निष्कासन गरियो र उनी मोरङ जिल्लामा गएर बसे । राणाहरूले यिनको भारतीय स्वतन्त्रता सङ्ग्रामका नेताहरूसँग सम्बन्ध राखेको भनेर सरकारी जागिर (सुब्बा) बाट खोसुवा गरेका थिए । पटकपटक जेल हाल्ने र छोड्ने पनि गरे । पछि राणाहरूले कृष्णप्रसाद कोइरालालाई देश निकाला गरे । यसरी यिनी विहारका विभिन्न ठाउँमा बस्दा विहारमै वि.पी.कोइरालाको जन्म भएको हो । यिनको प्राथमिक स्तरको शिक्षादीक्षा विहारकै पूर्णिया जिल्लामा भएको थियो । यिनको विश्वविद्यालय स्तरको शिक्षा चाहिँ बनारस हिन्दु विश्वविद्यालयमा भएको र यिनले कानुनमा स्नातक चाहिँ कलकत्ताबाट गरेका थिए । हाईस्कुल स्तरको शिक्षा हासिल गर्दा भारतमा अङ्ग्रेज साम्राज्यवाद विरूद्ध भारत छोडो आन्दोलन चरम रूपमा अघि बढी रहेको थियो ।

भारत प्रवासमा रहँदा आम्दानी केही नभएको र परिवार पाल्न कृष्णप्रसाद कोइरालालाई धौ धौ परिरहेको त्यो बेला यिनी निम्न वर्गीय अवस्थामा रहेकाले माक्र्सवादतर्फ आकर्षित भएका थिए । कलेजमा भर्ना भएर स्नातक पढ्दासम्म यिनी भारतीय कम्युनिष्ट पार्टीको सदस्य भई सकेका थिए । पछि भारत छोडो आन्दोलन र यिनका पिता कृष्णप्रसाद कोइरालाको सम्बन्ध महात्मा गान्धी, जयप्रकाश नारायण र राम मनोहर लोहियासँग राम्रो भएकाले यी ३ व्यक्तिको प्रभावबाट यिनले कम्युनिष्ट दर्शन छोडेर लोहियाको लोकतान्त्रिक समाजवादी दर्शन (जो वर्नस्टिनबाट प्रभावित थिए) लिए । यिनी पछिसम्म त्यही दर्शनबाट प्रभावित भईरहे । पछि फेरि यिनका पिता कृष्णप्रसाद कोइरालालाई राणा शरकारले देशभित्र आउन पाउने गरी माफी दियो । उनी विराटनगर आएर पुनः समाजसेवामा तल्लीन हुन थाले । भारतीय स्वतन्त्रता सङ्ग्रामीहरूलाई सहयोग पु¥याउँदै नेपालमा राणाहरूको विरोधमा जनचेतना बढाउँदै रहे । यही मौकामा यिनलाई पुनः पक्राउ गरियो र अड्डासार गर्दै काठमाडौं ल्याइयो । पक्राउ पर्दै यिनी विरामी थिए । काठमाडौंको अस्वस्थ्यकर जेलमा यिनलाई राखियो । यिनी झन विरामी पर्दै गए । अन्त्यमा जेलमै रहेको अवस्थामा कुष्णप्रसादको मृत्यु २००१ सालमा भयो । यसबाट झन वि.पी.मा राणाहरू विरूद्ध घृणा अझ बढ्यो र यिनले प्रवासमा रहेका नेपालीहरूलाई राणाशासनको विरोधमा सङ्गठन गर्न थाले । यिनले नेपालमा ४ सहिदलाई फाँसी दिएको विरोधमा दार्जिलिङबाट वक्तव्य जारी गरेका थिए । कलकत्तामा पढ्दादेखि नै यिनी अङ्ग्रेज विरूद्ध सङ्घर्षमा लागे । भारतीय जेलमा पनि पटक पटक परे । यिनले सङ्घर्षशील दलको आवश्यकता देखेर नेपाली राष्ट्रिय काँग्रेसको स्थापनामा महत्वपूर्ण पहल गरेका थिए ।

वीपी लगायत मिलेर नेपाली राष्ट्रिय काँग्रेसको स्थापना भयो । त्यसबेला आधुनिक नेपालका सबै हस्तिहरू त्यो नेपाली राष्ट्रिय काँग्रेसमा थिए । यही मौकामा नेपालको एकमात्र शहर जो त्यसबेला र अहिले पनि औद्योगिक शहरको रूपमा गणना गरिन्छ– मा विराटनगर जुट मिल थियो । त्यसमा युनियन थिएन । यिनको निर्देशनमा गठन भएको जुटमिलको ट्रेड युनियनमा यिनका भाइ गिरिजाप्रसाद कोइराला सभापति र मनमोहन अधिकारी महासचिव बनेर पहिलो ट्रेड युनियन गठन भएको थियो । विराटनगर जुटमिलमा हडताल गराउन यिनी विराटनगर आए र पहिलो ट्रेड युनियन गठन र हडताल भयो । यिनलाई राणाशासकले पक्ड्यो र पूर्वाञ्चलको धनकुटा लगेर थुन्यो । धनकुटामा राखेपछि पछि काठमाडौं–भोजपुर–ओखलढुङ्गा–रामेछाप–काभ्रे हुँदै पैदल हिँडाएर काठमाडौं ल्यायो । त्यसबेला यिनलाई नख्खुजेलमा थुनिएको थियो । त्यसपछि यिनले जेलमै भोकहडताल गरे र महात्मा गान्धीको दबाबले यिनलाई राणाहरूले जेलबाट छाडे । यसअघि यिनी भूमिगत रूपमा काठमाडौंमा सङ्गठन गर्न आएका थिए । गणेशमान सिंह जेलबाट भागेर मकवानपुरको बाटो हुँदै भारतको बनारस पुगेपछि यिनको भेट भयो र यी एउटै विचार र एउटै पार्टीमा लाग्ने र राणाशासन फाल्ने प्रण गरेका थिए ।

गणेशमान सिंहको सुझावले नै वीपी काठमाडौं आएका थिए । काठमाडौं आएर यिनले तत्कालीन राणाहरूको विरोधमा लागेका युवाहरू सूर्यबहादुर भारद्वाज, प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ र गौरीभक्त प्रधान लगायतलाई भूमिगत रूपमा भेटेका थिए । यिनलाई त्यौडटोलमा भेट गर्दागर्दै राणाहरूको गुप्तचरले थाहा पायो र पक्डिन गयो । उनी कौशी र छानाछानाबाट भागे । तर त्यसबेला गौरीभक्त प्रधानलाई राणाहरूको गुप्तचरले पक्डियो र उनी करीब डेढ वर्ष जेल बसे । काठमाडौंं जागरणमा सुन्दरराज चालिसे, शम्भुराम श्रेष्ठ, प्रेमबहादुर कंसाकार, पुष्पलाल, साहना प्रधान, स्नेहलता श्रेष्ठ, कामाक्षी देवी राणा, मङ्गलादेवी सिंहको प्रमुख हात थियो । यिनले भारत फर्किएपछि त्यसबेला ‘सि’ क्लासका राणाहरूले महेन्द्रविक्रम शाह र सुवर्ण शम्सेरलाई नेता बनाएर प्रजातन्त्र काँग्रेस खोलेका थिए । डा. रेग्मी र यिनको बीचको राष्ट्रिय काँग्रेसको झगडामा पुष्पलालले जति मध्यस्थता गरे पनि मेलमिलाप हुन सकेन । त्यसको विपरीत यिनले प्रजातन्त्र काँग्रेस र नेपाली राष्ट्रिय काँग्रेसलाई मिलाएर वि.सं.२००६ सालको चैत महिनामा नेपाली काँग्रेस स्थापना गरे । यो पार्टीले यिनका दाजु मातृका प्रसाद कोइरालालाई नेतृत्वमा लियो र वैरगनियामा सम्मेलनको आयोजना ग¥यो । सो सम्मेलनले नेपालमा राणाहरूको विरूद्ध सशस्त्र सङ्घर्ष गर्ने निर्णय ग¥यो र यिनका दाजु मातृकाप्रसाद कोइरालालाई सुप्रिम कमाण्डर बनायो । मातृका सुप्रिम कमाण्डर भए पनि पार्टी र सेनामा यिनै बढी जनप्रिय थिए र २००७ सालको क्रान्तिमा राणाहरूले आत्मसमर्पण गरेर नेहरूको मध्यस्थतामा दिल्ली सम्झौता गरेपछि राणा–काँग्रेस सयुक्त मन्त्रिमण्डल गठन गर्ने सम्झौता भयो । मोहन शम्सेर प्रधानमन्त्री भए र यिनी विद्रोहीका तर्फबाट दोस्रो नम्बरको पोर्टफोलियो लिएर गृहमन्त्री भए ।

दिल्ली सम्झौताको विरोधमा देशभक्तिपूर्ण आन्दोलनको सूत्रपात पुष्पलालले गरिसकेका थिए । काठमाडौंमा विरोध प्रदर्शन भयो र विद्यार्थी नेता चिनिया काजी मारिए । उनले अरू मतभेदका अलावा चिनीया काजीको मृत्यु पछि नैतिकताका आधारमा राजीनामा दिएको कुरा पछि उल्लेख गरेका छन् । त्यसपछिका ७ वर्ष नेपालबाट भागेर हिँडेका राजा त्रिभुवन र उनका छोरा महेन्द्रले विभिन्न दलका मानिसलाई उचालेर राजतन्त्रलाई स्थापित गर्न खोजे । संविधान सभाको निर्वाचन गर्ने आफ्नै घोषणा स्वयं त्रिभुवनले विभिन्न षडयन्त्र गरेर तुहाउन खोजे । यसमा धेरै दल र नेताहरू जानेर वा नजानेर सहभागी भए ।

त्यसबेला नेपाली काँग्रेस स्थापनाको हाराहारीमा नेपाल कम्युनिष्ट पार्टी पुष्पलालको नेतृत्वमा स्थापना भई सकेको थियो । यसले नेपाली मजदुर किसानमा दिल्ली सम्झौताको विरोधमा जबरजस्त प्रभाव जमाई सकेको थियो । यसले संविधान सभाको चुनाव गराउन जनआन्दोलनको सूत्रपात गरेको थियो । वि.पी.कोइराला नेहरू र तत्कालीन दरबारको चेपुवामा परेका थिए । यिनले संविधान सभाको चुनाव नगराउने षडयन्त्रका विरूद्ध आन्दोलन गर्ने निर्णय गरे र वि.सं. २०१४ सालमा पहिलो सत्याग्रह भयो । यसबाट दरबार त्रस्त भएर सम्झौता गर्न खोज्यो । वि.पी.ले संविधान सभाको निर्वाचन गराएर संविधान जारी गर्ने कुरामा सहमति नगरेर राजा महेन्द्रसँग सम्झौता गरी आयोगबाट राजाका हातमा सेना परिचालन गर्ने अधिकार राखेर बनाएको संविधान बमोजिम संसदको चुनाव गर्न राजी भए । वि.पी.ले नेपाली जनआन्दोलनको इतिहासमा सबभन्दा ठूलो भूल पहिलो पटक गरेका थिए । वि.सं. २०१५ सालमा संसदको चुनाव भयो । उनले नेतृत्व गरेको पार्टी नेपाली काँग्रेसले दुइतिहाई बहुमत ल्यायो ।

राजा महेन्द्रलाई वि.पी.को नेतृत्वको पार्टीले चुनावमा यति धेरै सिट ल्याउँछ भन्ने आँकलन थिएन । त्यसैले काँग्रेस पार्टी संसदीय दलको नेता वि.पी. नछानियुन् अरू कोही छानियुन् भन्ने कामना र षडयन्त्र दरवारले गरेको थियो । दरबारले सुवर्ण शम्सेरलाई उकासेको थियो तर सुवर्ण शम्सेरको सुझबुझपूर्ण रवैयाले वि.पी.को दलभित्र अनहोनी हुन पाएन । वि.पी. संसदीय दलको नेता छानिए र प्रधानमन्त्री भए । तर उनलाई शपथ गराउन समेत राजा महेन्द्रले आनाकानी गरेका थिए भनिन्छ । प्रधानमन्त्री भएपछि यिनले केही राम्रा सुधारात्मक काम शुरू गरे । जस्तै यिनले लोकतन्त्रमा न्यायलय स्वतन्त्र र सम्मानजनक हुनुपर्दछ भन्ने मान्यतामा सरकारमा बस्नेलाई ल्याए र प्रधानमन्त्रीको भन्दा प्रधान न्यायाधीशको तलब केही बढी र मन्त्रीको भन्दा सर्वोच्चका न्यायाधीशको तलब केही बढी राख्ने मान्यता राखे । यसबाट न्यायपालिकामा भ्रष्टाचार नहोस् र सरकारका अन्य अङ्गमा भएको भ्रष्टाचारलाई न्यायपालिकाले नियन्त्रण गरोस् ।

वीपीले सारा देशभरका राजा रजौटा उन्मूलन ऐन ल्याए र राजा रजौटा उन्मूलन गरे । उनीहरूको कब्जामा रहेका बनजङ्गल र अन्य प्राकृतिक स्रोत साधनको राष्ट्रियकरण गरे । राणाहरूले आफ्ना भाइ–भारदार र कर्मचारी वा पुरोहितलाई दिएका बिर्ताजग्गा बिर्ता उन्मूलन ऐन ल्याएर राष्ट्रियकरण गरे । यसको अलावा २०१३ सालमा टङ्कप्रसाद आचार्यले शुरू गरेको भूमिसुधार कार्यक्रमलाई अझ बढी जनपक्षीय कम हदबन्दी तोकी लागू गर्ने क्याबिनेट निर्णय गरेर भूमिसम्बन्धी ऐन ड्राफ्ट गरी संसदमा पेश गरे । यो क्रान्तिकारी भूमिसुधारकै प्रारूप थियो । यसरी बिर्ता उन्मूलन ऐन, क्रान्तिकारी भूमिसुधार, छुवाछुत विरोधी ऐन, बनजङ्गल राष्ट्रियकरण ऐन, यी सब सुधारात्मक आन्दोलन र कानुनले सामन्त वर्ग रूष्ट भयो र तत्कालीन राजालाई उकास्यो । २०१७ साल पौष १ गते सेनाको सहायताले राजाले निर्वाचित प्रधानमन्त्रीलाई गिरफ्तार गरे । थापाथलीको तरूण दलको सम्मेलनबाटै गिरफ्तार गरेर सङ्कटकाल लगाए । त्यसको छ महिनापछि उनलाई सुन्दरीजल आर्मीब्यारेकमा राखियो । उनलाई कसैसँग समेत भेट गर्न नदिई राखियो । उनी निश्चिन्त भएर जनताको लोकतन्त्रका पक्षमा रहँदै आए ।

२०१७ सालदेखि वि.सं.२०२५ सम्म ८ वर्ष वीपीलाई जेलमा राखियो । २०२५ सालमा जेलबाट उनी छुट्नासाथै विराटनगर गए । विराटनगरको एलिटक्लबमा बहुदलीय लोकतन्त्रको पुनर्वहाली गर्ने भाषण दिए । विराटनगरको बरगाछी पत्रिकामा नेपालमा राजतन्त्रको अवशेषले जहिले पनि लोकतन्त्र निमोठिनु परेको कुरा गरे र नेपालमा गणतन्त्र स्थापित हुनुपर्ने जिकीर गरे । त्यसपछि उनी भारत प्रवास गए । भारत प्रवासबाट सशस्त्र निशस्त्र सबै प्रकारका सङ्घर्ष शुरूवात गरे । चितवन र ओखलढुङ्गा काण्ड यसका उदाहरण हुन् । भारतमा इन्दिरा गान्धीले लखेटेपछि उनी राष्ट्रिय मेलमिलापको कार्यनीति लिएर नेपाल पसे । नेपाल सरकारले फेरि जेल हाल्यो । पछि राजा वीरेन्द्रले उपचारको लागि छोडे पछि उनी अमेरिका गएर उपचार गरे । फर्किदा राजतन्त्रले उनका अनुयायी क्याप्टेन यज्ञवहादुर थापा र भिमनारायण श्रेष्ठलाई फाँसी दियो । यसै मौकामा जनरल जियाउल हकले पाकिस्तानका लोकप्रिय नेता जुल्फिकर अलि भुटोलाई फाँसी दियो । त्यसको विरोधमा नेपालमा विद्यार्थी आन्दोलनले चरम रूप लियो । राजाले जनमत सङ्ग्रहको घोषणा गरे । वि.पी. ले जनमतमा भाग लिने निर्णय गरे ।

त्यसबेला कम्युनिष्ट र काँग्रेस एकमत भएर चुनाव प्रचार गरेको भए बहुदलीय व्यवस्थाले चुनाव जित्थ्यो । कम्युनिष्टहरूसँग नमिल्ने उनले निर्णय गरे । छुट्टाछुट्टै प्रचार गर्दा बहुदलीय व्यवस्थाको हार भयो र निर्दलीय व्यवस्था सहितको संविधान बन्यो । वि.पी.ले उक्त संविधानलाई स्वीकार गरेर तेस्रो गल्ती गरे । वि.पी.कोइरालासँग यो पङ्क्तिका लेखकले नै प्रत्यक्ष भेटेर कुरा गरेको र कुराकानीमा ‘भारतमा इन्दिरा गान्धीको सङ्कटकाल विरूद्ध जयप्रकाश नारायणको नेतृत्वमा ठूलो जनआन्दोलन भयो । त्यस आन्दोलनमा दक्षिणपन्थी जनसङ्घदेखि वामपन्थी नक्सालवादी कम्युनिष्ट पार्टीसम्मलाई एक गराएका थिए– तपाइँले यहाँ किन गर्नु भएन भन्दा उनले प्रजातन्त्र र बहुदलीयतामा यहाँका कम्युनिष्ट समुहहरूले कमिन्टमेन्ट गरेका छैनन् त्यसैले मैले उनीहरूसँग कार्यगत एकता गर्न आधार देखिन । पुष्पलाल समुह र मनमोहन समुहसँग कार्यगत एकता हुन सक्थ्यो तर त्यतिबेला गल्ती भयो ।’ भन्ने कुरा राखेका थिए । वि.पी.का पालामा नेपालको हित विपरीत गण्डक सम्झौता भारतसँग भयो । तर यिनले जीवनको उत्तरार्धमा आएर गलत भएको महसुस गरे । नेपालको राष्ट्रियता र लोकतान्त्रिक आन्दोलनमा यिनी ज्यादै चनाखो भएर लागि रहे । नेपाली राष्ट्रियतामाथि भएका आघातमा यिनले बीचको बाटो लिएर उक्त आघातबाट बचाउने प्रयास गरे ।
शितयुद्धको पराकाष्टामा यिनी प्रवासबाट देशभित्र जोखिम मोलेर देशमा आएका थिए । यिनी राजासँग राष्ट्रिय मेलमिलाप गर्ने लाईन लिनुमा यिनको देशभित्र सङ्गठन गर्न जाने वातावरण बनाउने कुटनैतिक लाइन थियो भन्न सकिन्छ । यिनको मृत्यु २०३९ साल श्रावण ६ गते काठमाडौंमा भयो । यिनको मृत्युमा नेपाली जनताको अथाह सागर ओर्लियो । अर्थात् नेपालको लोकतान्त्रिक आन्दोलन र नेपाली समाज र सभ्यताको विकासमा यिनले पु¥याएको योगदानलाई नेपाली जनताले पछिसम्म पनि सम्झी रहने छन् । यिनले सामन्ती भूस्वामित्वको अन्त्यका लागि चालेको कदम नेपालको आर्थिक विकासको शुरूवात र आधारशीला मान्न सकिन्छ ।

वीपी साहित्यमा फ्रायडवादी र स्वच्छन्दवादी थिए । तर देशको प्राकृतिक स्रोत सञ्चालन, सम्बद्र्धन, विकास र न्यायोचित वितरणको भिजन सहितको कार्यक्रमिक रूपमा कुनै खाका यिनले कोरेनन् अर्थात् कुनै किताब लेखेनन् । समाजवादको आधारशीला भने यिनले आफ्नो पार्टीको २०१२ सालको सम्मेलनमा भने राखे । त्यसको आर्थिक, सामाजिक, साँस्कृतिक तथा शैक्षिक आधारशीला कति राज्यले गर्ने र कति नीजि क्षेत्रले गर्ने भन्ने कुराको प्रारूप भने किताबको रूपमा यिनले लेखेनन् । फलस्वरूप यिनका अनुयायीले आज नेपालमा समाजवाद भनेको नीजि क्षेत्रको विकास मात्र हो भन्ने नकारात्मक कुरा मात्र बुझे र भ्रष्टाचारको नियन्त्रण नगरेर देशमा अथाह भ्रष्टाचार बढाए । फलस्वरूप देश द्वन्द्वको चपेटामा परेको कुरा हाम्रा सामु छँदैछ । जे भए पनि आधुनिक युगमा नेपाल आमाकोे छोरा छोरीमध्ये यी नेपाली सभ्यताको विकासमा र नेपाललाई आधुनिक युगमा प्रवेश गराउने नेपालीमध्ये यिनलाई अब्बल दर्जाका देशभक्त नेपाली नागरिकको रूपमा प्रत्येक नेपालीले सम्झनु पर्ने हुन्छ । युग युगसम्म नेपालीले र नेपाली सभ्यताले सम्झी रहने मानिस हुन् वि.पी.कोइराला ।

(प्रस्तुत लेख भट्टराईको ‘नेपाली सभ्यता: विगत र वर्तमान -लोकतान्त्रिक आन्दोलन र विकास मोडल’ पुस्तकबाट लिइएको हो ।)

 

सर्बाधिक पढिएको

ओलीतन्त्रको समिक्षा र देउवाको चुनौती

ओलीतन्त्रको समिक्षा र देउवाको चुनौती ३ हप्ता पहिले | नीलकण्ठ तिवारी

सबै कुरालाई हाँसीमजाकमा लिने निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बडो…

ओली बिनाको पार्टी एकताको तयारी गर्दै प्रचण्ड र माधव, को–को हुँदैछन् सहभागी ?

ओली बिनाको पार्टी एकताको तयारी गर्दै प्रचण्ड र माधव, को–को हुँदैछन् सहभागी ? ३ हप्ता पहिले | संसार न्यूज़

असार ३०, काठमाडौं । राजनीतिक घटनाक्रम फेरिएसँगै एक ठाउँमा उभिएका…

माधव पक्षीय कार्यदलमै विवाद : गोकर्ण र सुरेन्द्र एकातिर, घनश्याम अर्कोतिर

माधव पक्षीय कार्यदलमै विवाद : गोकर्ण र सुरेन्द्र एकातिर, घनश्याम अर्कोतिर ३ हप्ता पहिले | समर शर्मा

असार २४, काठमाडौं । एमाले विवाद समाधान उन्मुख भएको चर्चा…

नेपालीहरु ठगिएको गुनासो बढ्न थालेपछि कतारस्थित नेपाली दूतावासले जारी गर्यो यस्तो सूचना

नेपालीहरु ठगिएको गुनासो बढ्न थालेपछि कतारस्थित नेपाली दूतावासले जारी गर्यो यस्तो सूचना ४ हप्ता पहिले | संसार न्यूज़

१८ असार, कतार । कतारस्थित नेपाली दूतावासले डिजिटल ठगीबाट बच्न…