Sansar News- Nepal's Fast Khabar Online News Portal

दशगजाको यात्री अब कता ?

संसार न्यूज़
३ वर्ष पहिले
दशगजाको यात्री अब कता ?

khagendra sangroula

यस्तो होला भन्ने मलाई एकरत्ती विश्वास थिएन । मेरो यो अविश्वासमा पुष्पकमलको चञ्चल चित्तवृत्ति र खुकुलो जिब्रोको दह्रो हात थियो । मलाई लागेको थियो— पुष्पकमलले निराकार भद्र सहमतिका कुरा उठाएपछि धूर्त खड्गप्रसादले उनलाई अर्को एक राउण्ड हप्काउने छन् । हावामा हाउगुजी हल्लाउँदै डर देखाउने छन् । र घमण्डले फुल्दै भन्नेछन्— मलाई छाडे तिम्रो चर्म खतरामा पर्नेछ । बुझ, म भनेको तिम्रो ढाल हुँ । जबसम्म तिमी मसँग हुन्छौ, तिम्रो सुरक्षा सुनिश्चित छ । जब तिमी मबाट टाढिन्छौ, तिम्रा दुःखका दिन शुरु हुन्छन् । र मलाई यो पनि लागेको थियो— ओलीको कपटयुक्त बोलीबाट पुष्पकमल थर्किने छन्, उनले कान समात्ने छन्, र पुनः ओलीका पाउमा त्वम् शरणम् हुनेछन् । अनेक पटक यस्तो भइसकेको थियो ।
तर लास्टमा ओलीबाट हुनुसम्म तिरष्कृत र अपमानित भई पुष्पकमलले ओलीलाई बोकेको डोली घ्याच्च बिसाए । यसै गर्नु थियो त यतिका दिन, यतिबिधि बद्नाम हुन्जेल ओलीलाई यिनले किन बोकेका ? नीति वचनमा यसैलाई विनाशकाले विपरीत बुद्धि भनिदो हो ।
सोह्बुँदे ओली र दाहालको मायापिर्ती गाँस्ने सूत्र थियो । यो सूत्रको आधार सिद्धान्त, आदर्श वा मूल्य थिएन । यसको आधार थियो, यी दुई लाठेको विशुद्ध निहित स्वार्थ । पदलिप्साका पर्याय भनिन लायकका ओलीलाई सिङ्गदरबारमा फोटो झुन्ड्याउनु थियो । होस्ल्याङे दाहाललाई आप्mनो छालाको रक्षा गर्नु थियो । ओली परे मुखर गणतन्त्रविरोधी । सङ्घीयताका हाकाहाकी बैरी । दाहालसँग सत्तास्वार्थको वेदीमा मायापिर्ती गाँस्दा ओलीलाई गुमाउनु केही थिएन । खालि पाउनु र पाउनुमात्र थियो । दुबै हातमा स्वादे लड्डु । तर ओलीलाई डोलीमा बोक्दा दाहाललाई गुमाउनुसिबाय केही थिएन । यिनले भयानक मूर्खतावश सारा चीज गुमाए । यिनले कति राम्रो सिद्धान्त गुमाए । यिनले कति उदात्त आदर्श गुमाए । यिनले परिवर्तनको न्यायपूर्ण बाटोका कति असल सहयात्रीहरू गुमाए । यिनले आप्mनो कद गुमाए । यिनले आप्mनो छवि गुमाए । यिनले आप्mनो विश्वसनीयता गुमाए । यिनले आप्mनो नाक गुमाए । यिनले केमात्र गुमाएनन् ?
सोह्रबुँदे खोस्टाको अन्तर्यमा ओली र दाहाललाई नक्क्ली मायाँजालमा फसाउने अर्को सूत्र थियो, राष्ट्रवाद । त्यस्तो राष्ट्रवाद, जसको मूल तत्व नश्लवाद हो । त्यस्तो राष्ट्रवाद, जसले एकाघरका बन्धुबान्धवलाई शत्रु देख्छ र घृणा गर्छ । त्यस्तो राष्ट्रवाद, जसमा अहङ्कारको पुञ्ज हुन्छ, र जसले कथित राष्ट्रवादीलाई विवेकशून्य बनाउँछ । त्यस्तो राष्ट्रवाद, जसले अखण्डताको माला जप्छ र समाजलाई खण्डित तुल्याउँछ । त्यस्तो राष्ट्रवाद, जसले एकाघरका बन्धुबान्धवमाथि घातक हतियार प्रहार गर्छ र समाजभरि घावैघाउ बनाउँछ । यसको सबुत सम्बिधान हो । त्यो सम्बिधान, जुन एकाघरका बन्धुबान्धबहरूको रगतले लतपतिएको छ । सम्बिधानमा रगतको यो चित्कारमय लतपत ओली र दाहाललाई स्वार्थजन्य प्रणयसूत्रमा गाँस्ने कपट कलाको कुरूप दसी हो ।
दाहालले राजीखुशीले आमन्त्रण गरेको नोक्सानीको लाम कतिकति लामो छ । नश्लवादी र अन्धवेगी राष्ट्रवादको लाभ लाटलुट्टै ओलीलाई हुनेछ । दाहालले त केवल ओलीले छाडेको सिला खोज्ने हो । ओलीसँग लभ पर्दा मधेशसँग दाहालको लभ छुटेको छ । र, मधेशमा दाहालको दलको खुट्टो टेक्ने ठाउँ कतै छैन । र अहिले इदम् भरष्ट उदम् भरष्ट भइसकेपछि दाहालले ओलीलाई बोकेको गन्दे डोली बिसाएका छन् । के गर्ने, धेरै ढिलो भइसक्यो । ओलीका चरणमा दाहाल लम्पसार पर्दा माओवादी दललाई जति नोक्सान भयो, त्यसको उपचार गर्ने कुनै जुक्ति छैन । अब गर्न सकिने कुरा एकमात्र छ । त्यो हो, आप्mनो मूर्खतालाई धिक्कार्दै पश्चाताप गर्नु ।
जेहोस्, हिजोसम्मका इष्टदेवतुल्य ओलीलाई बोलीको ठेगान नभएका भनिने दाहालले त्यागे । के सत्ताराजनीतिमा यो शुभ सङ्केत हो ? के यो स्वागतयोग्य कदम हो ? के अब रक्तरञ्चित संविधानमा मधेशका घाउहरूको न्यायिक उपचार हुन्छ ? के अब जनजातिगणको पहिचानको आकांक्षाको सम्मान हुन्छ ? के अब महिलाहरूलाई बराबरी नागरिक हक प्राप्त हुन्छ ? के अब महाबिचल्लीमा परेका भूकम्पपीडितहरूलाई राहत मिल्छ ? के अब उँधोका औतारीसँगको ध्वस्त भएको कूटनीतिक सम्बन्ध सुध्रिन्छ ? खै, मलाई थाहा छैन । त्यति प्रिय ओलीलाई किन त्यागेको हो प्रेमी दाहालले लोकले पत्याउने गरी केही भनेका छैनन् । केवल भद्र सहमति’प्रति ओलीले प्रदर्शन गरेको अभद्र मतिका कुरा गरेका छन् । केवल ओलीले छलछाम गरेर आपूmलाई थाङ्नामा सुताएका कुरा गरेका छन् । निहित स्वार्थको वेदीमा जब झुठसँग नाता गाँसिन्छ, इहलोकमा हुने सधैँ यस्तै हो । त्यसैले यसमा म ओलीको रत्तिभर दोष देख्दिनँ । खिर्राको रुखमा अङ्गुर फलेन भनेर खिर्रालाई दोष किन दिने ? दोष दिनुपर्ने त खिर्राका रुखका अङ्गुर फलेको देख्न चाहने लठ्ठकलाई पो हो ।
ओलीले बाजी जिते, दाहालले हारे । दक्षिणपन्थ विजयी भयो, वामपन्थ पराजयी । दाहालका कृपाले ओलीको दक्षिणपन्थको उत्थान भयो, दाहालको वामपन्थ सर्वनाश भयो । ओलीलाई राजनीतिको बाजी जिताएर पसिना काड्दै, सुस्केरा हाल्दै, नूर गिरेको अनुहार लिएर दाहाल इतिहासको दशगजामा लिन्ठिङ्ग उभिएका छन् । अब उनी कता लाग्छन्, लोकलाई थाहा छैन । शायद उनका निकट सहयोगीहरूलाई पनि थाहा छैन । दाहाललाई भगवान्को दर्जामा उकाल्ने र ओलीको सेवामा समर्पित गराउने यी भक्तहरू स्वयं विवेकशून्य र दिशाशून्य छन् । माथि सिंहासनमा जस्ता राम, तल चकटीमा उस्तै हनुमान । तल चकटीमा जस्ता हनुमानहरू, माथि सिंहासनमा उस्तै राम ।
सत्ताराजनीति जस्तोसुकै होस्, भोलि बिहान उज्यालो हुने नै छ । घाम झुल्किने नै छ । र, अभाव र कष्टको बीचमै सही, जीवन अगाडि नै जानेछ । अन्ततोगत्वा ओलीहरू आप्mना टुक्काहरूका झुत्रा झोली बोकेर थन्किने इतिहासका अँध्यारा गुफामै हो ।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ३ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ४ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ३ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…