Sansar News- Nepal's Fast Khabar Online News Portal

भर्चुअल लभ

संसार न्यूज़
४ वर्ष पहिले
भर्चुअल लभ

suman-ghimire

म्यानह्याटनको ट्वान्टी थर्ड स्ट्रिटको माथिल्लो तल्लामा रहेको स्टारबक्समा दिनको १२ बजे भेट्ने उनको टेक्सट पाउने बित्तिकै म दारी र कपाल काट्न सैलुन तिर लागें । बज्न त भरखरै १० बजेको थियो । प्राय दारी म घरमै काट्थे तर आज मनले मानेन । शुक्रबार भएर होला, सैलुनमा निकै भीड थियो । पहिलो पटक भेट्न जान लागेर पनि हो,मनमा उत्साह थियो, चिरिच्याट्ट परेर जान मन लाग्यो । सडकको जाम उस्तै थियो, यसो तसो गर्दा गर्दै म १ बजे मात्र त्यहाँ पुगें । उनी अर्थात अनामिका कालो टप्स र निलो जिन्समा मोबाईल हेर्दै मेरै प्रतिक्षामा बसेकी रहेछिन् । हाई,” मैले उनीलाई हात हल्लाएँ । उनी मुस्कुराईन् । ‘सरी’, फेरि मैले भने । उनीले ‘ईट्स ओके निरज” भनिन् ।

एक दिन मेरो मोबाईलमा नयाँ नम्बरबाट फोन आएको थियो । कहिले नसुनेको आवाज । को बोलेको भनेर म सोध्दै थिएँ । उताबाट आक्रोसका शब्दहरु एकाएक बर्षिन थाले । त्यो पनि नेपालीमै । ‘कस्तो नचिनेको । अब विर्सियौ होईन । ब्रेक अप भाको दुई दिनमै विर्सिने ‘ । मलाई अनौठो लाग्दै थियो उनका वाक्यहरु । मानौ ऊ रिसले आगिएर त्यो नम्बरवालालाई गाली गर्दै थिई । उनको बोलीमा केही करुणा मिस्सिएको थियो भने त्यो भन्दा धेरै मादकता । बोली पुरै लरबरिएको थियो तैपनि मिठास । उनले भन्न पर्ने सबै कुरा भनेर सिद्याए पछि मैले ,” एक पटक नम्बर हेर त ,को सँग कुरा गर्दै छौ ? यत्तीकैमा फोन काटियो । म एक छिन अलमल्लमा परें । उनको मोबाइल नम्बरलाई ‘मिस्टेरियस्’ भनेर सेभ गरें ।

न्युयोर्कमा हिउँ परिरहेको थियो । जाडो निकै बढेको थियो । मलाई हिटर निकै प्यारो हुदै गएको थियो । झन् त्यस माथि त्यो मिस्टेरियस् केटीले गरेको फोनले मेरो ज्यान झनन्न तताएको थियो । मैले एकिन लगाउन सक्थें त्यो केटीको पक्कै भरखरै ब्रेक अप भएको । खेर जे होस् मलाई मतलबको विषय पनि त थिएन । मलाई पनि आफ्नै प्रेयषीसँगको ब्रेकअपले सुन्यता बनाएको थियो । न प्रेम प्रति न त प्रेमीका प्रति मेरो झुकाव थियो ।

रात सुनसान थियो । म बस्ने अपार्टबाट तल देखिने दृश्य निकैनै सुन्दर थियो । ल्याम्पपोष्ट बाट निस्किएको पहेंला प्रकाशले अझ सौन्दर्यता थपेको थियो । नेपालमा पनि कहिंले काही यसरीनै बाटाहरु हेर्थे । बाटोहरुको बारेमा अनेक थरी सोच्थें । कसैलाई त्यो बाटोले गन्तव्य पुर्याईदिन्छ त कसैलाई बिचैमा अलपत्र छाडिदिन्छ । मान्छेको जीवन पनि बाटा जस्तै हो । भरनै छैन कहाँ पुग्ने । बिचैमा पनि टुंगिन सक्छ । म सधै जीवन हाइवे भएको हेर्न चाहन्छु ।

सुन्यतामा आवाजहरु एकदमै सक्रिय हुँदा रहेछन् । मेसेज आएको टोन मेरो कानमा परि हाल्यो । मिस्टेरियस्को मेसेज रहेछ । फोनको कभर बाटै देखिन्थ्यो । के लेखी त भनेर हेर्न उत्सुक भएँ । मेसेजमा उसले लेखेकी थिई ‘सरी अघि भुलवस फोन गरेको रहेछु । मैले मेरो ‘एक्स’लाई फोन गरेको भनेको त हजुरलाई लागेछ, मैले जे जे भने, गाली गरे, प्लिज एक पटकलाई माफ गरिदिन’ु, अनामिका । मलाई खासै उसको गालीले मन दुखाएको थिएन त्यसैले छोटो मेसेज पठाएँ , ‘इट्स ओके, ह्याभ अ गुड नाईट ‘ ।

भोेलि पल्ट रातको आठ बजे समयमा अनामिकाको फोन आयो । आज पनि रक्सीले पुरै मात्तिएकी थिई । सायद प्रेममा आघात पाएर होला उनले सम्झनालाई पर लैजान यो लतमा लागेकी । उनलाई पक्कै थाहा छ , मदिराले दुःखलाई सदा हटाउन सक्दैन, मदिराले दिने उन्मुक्ति भनेको केवल क्षणिक हो । उसको बोली लरबरिएको थियो । ‘तिम्रो नाम के हो, मैले त विर्सेछु । उसले मलाई सोध्दै थिई । उसलाई हिजो मैले मेरो नाम भनेको पनि थिईन । न त उसले सोध्ने समयनै पाएकी थिई । मैले निरज के मात्र भनेको थिएँ ऊ हाँस्न पो थाली । मलाई उनको त्यो हाँसोले मेरो खिल्ली उडाए जस्तो लाग्यो , मैले फोन काटें ।

तेस्रो दिन पनि फोन र मेसेज आउने क्रम रोकिएन । एक हप्ता पनि नहुँदै मलाई पनि अनामिका सँग बोल्ने मिठो बानी बसेछ । अर्को रुपमा भन्न पर्दा म एडिक्टेड भएछु उनी सँग । कता कता प्रेममा परेछु म ।
एक दिन अनामिकाले मसँग मेरो फेसबुकको आइडि मागी । सायद उ जोडिन चाहन्थी मसँग । मैले तुरुन्तै टेक्सट गरिदिएँ । तुरुन्तै मेरो फेसबुकमा नोटिफिकेशन आयो । अनामिका शर्माको साथी बन्ने आग्रह । मलार्ई अनामिका शर्माको फेसबुकमा साथीको लागि आग्रह आउँदा स्वीकार गरुँ वा अस्वीकार गरुँ अन्योल भएको थियो । अचेल केटीको नाम भएका थुप्रै फेक आईडिहरुले साथीहरुको आग्रह पठाउँछन् । चिन्नै मुस्किल । त्यस माथि उनको त फेसबुकमा कुनै पनि फोटाहरु थिएनन् । त्यही भएर मैले आफ्नो फेसबुकको साथीहरुको लागि नियम बनाएको छु । कसैको साथी बन्न आग्रह आयो भने, म्युचुअल साथी ५० भन्दा बढि छ भने स्वीकार्ने नत्र नस्वीकार्ने । अनामिका र मेरो म्युचुअल साथी त ३९८ रहेछ । मलाई आफ्नै नियमले बाध्यो, स्वीकार्न बाध्य भएँ । अनामिकालाई साथी स्वीकार्ने बित्तिकै एउटा म्यासेज तुरुन्त आयो उनैको । साथी स्वीकार्नु भएकोमा एकदमै खुशी छु । अरु कुराको लागि पि.एम मि । यसरी म र अनामिका करिब एक महिना सम्म अनलाईनमै र फोनमै कुरा गर्यौं र आज बल्ल म्यानह्याटनको स्टारबक्समा भेट्ने भनेका हौं । कता कता भर्चुअल संसारमै हाम्रो माया बसेको थियो ।

‘के पिउने ? ‘ , जाडो छ , हट ल्याटे नै पिेउँ हुन्न , मैले आग्रह गरें । उनले स्वीकारीन् । यो पहिलो भेट थियो उनको र मेरो । म पनि त्यती खुल्न सकेको थिईन । उनी पनि । कुरा बल गरेर निकाल्न पर्दथ्यो । फोनमा कुरा गरे जस्तो धाराप्रवाह आउँदैनथ्यो । यो भेटले उनले मेरो ,र मैले उनको धेरै कुरा जान्ने भन्दा पनि , एक अर्कालाई प्रत्यक्ष रुपमा देख्न मात्र मिलेको संयोग जस्तै थियो । करिब एक घण्टाको बसाई पछि हामी छुट्टियौं ।

हरेक मानिस सँगका भेटहरु फरक फरक तरिका र कारणले हुन्छन् र कसरी ,किन यती मिठा हुन्छन् लामो समय सम्म यिनका यादहरु ? मसँग यसको उत्तर छैन । सायद ती भेटहरु हुनका लागि थियो अथवा भनौ आवष्यकता थियो । हामी हरेक दिन कयौं नयाँ मान्छेहरुलाई भेट्छौ । तर हामी ती भेटलाई वेवस्ता गर्छौ । सबैलाई सम्झिनै रहने हो भने हाम्रो मस्तिष्कको के होला हालत । तर त्यही यात्रामा कोही यती मन पर्दछ कि , जीवन भर विर्सन गाह्रो पर्दछ । अनि कति तिनै भेटहरु कति छिटै भाचिन्छन् , मेटिन्छन् , हामी पत्तो पनि पाउँदैनौ । अनामिकासँगको भेट मेरो लागि त्यस्तै अविस्मरणिय रहन पुग्यो ।

अब अनामिकासँग बोल्ने मेरो लत भईसकेको थियो । काममा बाहेक अन्य समय म उसैसँग बोल्न व्यग्र हुन्थें । कुरै कुरामा मलाई एक दिन अनामिका कसरी अमेरिका आई भनेर कहानी सुनाईन् ।

‘निरज, मलाई न्युयोर्क सहरको जेएफके एअरपोर्टमा ओर्लदा संसार जितेर आए जस्तो भएको थियो । म उभिएको एक्सलेभेटरको सिंढी तल झर्दै गर्दा मैले अरु सबैलाई पछि पारेर दौड प्रतियोगितामा प्रथम भएको जस्तै अनुभुति गरेको थिएँ । इन्ट्री क्लियर गर्न मलाई लगभग एक घण्टानै लाग्यो । ‘कति बस्ने त अमेरिका ?” ईन्ट्रि क्लियरेन्स अफिसरले प्रश्न सोध्दा मैले भनेको थिए ४ वर्ष । ल राम्रो सँग पढ्नु भनेर मेरो पासपोर्टमा चप गरेको थियो । लगेज हलबाट लगेज निकालेर म टर्मिनल वानको ढोका बाट बाहिरिदै गर्दा म स्वर्ग आएको अनुभव गरिरहेको थिएँ’ ।

म सँगै केयुमा पढ्ने मेरो साथी प्रनिता अमेरिका गएको एक वर्ष भएको थियो । हामी केयुमा पढ्दा एउटै बेन्चमा बस्थ्यौं । हाम्रो एउटा गु्रपनै बनेको थियो । म, प्रनिता, प्रबिना र प्राप्ती । सबैले हामीलाई एपि क्युब ग्यांग भनेर चिन्दथे । मैले प्रनितालाई म आउने कुरा उ सँगको बाराम्बर कुराकानीमा भनिसकेको थिएँ । ओई तेरो फ्लाईट डिटेल्स पठान प्रनिता बारम्बार भन्थी । ल ल म जहिले पनि बेलुका सम्म पठाईदिन्छु भनेर म उम्कन्थे । तर अन्त्यमा मैले प्रनितालाई मेरो ईटिकटनै पठाई दिएँ । त्यो पनि उड्न भन्दा दुई दिन अघि मात्र । म ढुक्क थिएँ प्रनिता लिन आउने कुरामा ।

म एराईभलको अगाडि आईपुग्दा प्रनितालाई दायाँ बायाँ खोजें । कतै पनि देखिन । सायद ढिलो भयो होला भनेर लगेज लिएरै उभिरहें । मेरो अगाडि ट्रेन आउने जाने गरिरहेका थिए । मेरो आँखा यता उता प्रनितालाई खोजिरहेका थिए ।

एक्कासी एक जना युवक म भएको ठाउँमा आएर आर यु अनामिका भनेर सोध्यो । मैले अकमक्कीदै हो भने । नमस्ते म चिरन भन्दै उसले आफ्नो परिचय दियो । म प्रनिताको साथी । हामी एउटै युनीमा पढ्छौं । आज प्रनिताको रोष्टर चेन्ज भएर ड्युटीमा जान पर्यो त्यही भएर मलाई रिसिभ गर्न पठाएकी । ए साँच्ची प्रनिताले त मलाई अनामिकालाई भेट्ने बित्तिकै मलाई फोन गर भन्थी मैले त धन्न विर्सेको । चिरनले लगाई दिएको फोनमा प्रनिता सँग एक छिन गफ गरें र उसँगै म प्रनिताको कोठा तिर लागें । ट्रेन भित्र चिरनसँग सामान्य परिचय भयो । प्रनिता क्विन्समा बस्ने रहेछे । मलाई चिरन न्युयोर्कको शहर विभाजनको कुरा भन्दै थियो । क्विन्स, म्यानह्याटन, ब्रुकलिन, ब्र्रन्स आदि आदि । अन्ततः हामी प्रनिताको कोठामा पुग्यौं ।

त्यस पछि मेरो अमेरिकी जिन्दगी सुरु भयो । काम पनि पाएँ । कलेज , काम गर्दा गर्दै समय बितेको महशुश नै हुँदैनथ्यो । हाम्रो अर्पाटमा चिरन बाक्लै आउँथ्यो । प्रनिताको मिल्ने साथी भएकोले मैले उसको आगमनलाई सहजै स्वीकार्थे । नजानिदो पारामा म चिरनको मायामा डुब्न थालेछु ।
हामी सँगै बस्थेनौ । त्यही भएर भेट कम हुन्थ्यो । प्राय हामी अनलार्ईनमै कुरा गर्दथ्यौं । म चाहन्थे उ मेरो हरेक आवष्यकतामा नजिक आओस् । उसको फुर्सदीला समयको एक एक बुँद म उसँग लिन चाहन्थें । तर उ मलाई भन्दा साथीभाईलाई बढि समय दिन्थ्यो ।

एक रात १० बजे अनलाईन आउने पक्का गर्यो उसले । मलाई प्राय बोल्न भन्दा टाईप गर्नै मन पर्दछ । अझ राती आवाजहरु चर्को सुनिन्छन् । कुर्दा कुर्दा उ मध्यरातमा अनलाईन आयो । दुई तिन शब्द लेख्यो , गायब भयो । म आजित भएँ । मैले हाम्रो सम्बन्धमा पुर्ण विराम लाग्यो, बाई भनेर टेक्सट लेखें । उसको कुनै प्रतिक्रिया आएन । म पनि सुते । विहान म उठ्दा उसको लामै मेसेज आएको रहेछ , ईमेल जत्तिकै ।

‘मेरो बिस्तारा को साइडमा प्लिक प्लिक गर्दै मोबाइल शान्त भएर बसेको थियो । बल्ल सम्झे तिमी संग कुरा नभएको कुरा । मैले हिजो कोठामा पुगे पछि फोन गर्छु भनेको थिएँ । भुसुक्कै र्विसेछु । स्क्रिनको नोटिफिकेशनमा नयाँ मेसेज रहेछ ।

प्रिय , पर्खाईको पिडा निकैनै कस्ट हुन्छ म बुझ्छु तर कहिले काही बुझ्दा बुझ्दै पनि कसैलाई कुराउन पर्दा मलाई पनि नमज्जा लग्छ । तिम्रो ठाउँमा म भएको भए पनि त्यस्तै हुन्थ्यो होला । तिमीलाई बारम्बार मैले यसरी नै कुराएको छु । म एकदमै लज्जित छु । बेवास्ता गरेको होइन । सम्झँदा सम्झदै पनि निदाउन पुगेछु । सायद मलाई थकान धेरै थियो । जब म कोठामा आए सबै भन्दा प्रिय बिस्तारा लाग्यो । अफसोच म निदाए , उता तिमी मेरो प्रतिक्षामा बसेकी थियौ । मैले जे जति लेखे पनि , तिम्रो मनले स्वीकार्दैन होला , यस्तै हुन्छ, रात भरि गफ गरम्ला भन्यो , बिहान उठ्दा परिस्थती अर्कै हुन्छ । अचेल मलाई मेरो निद संग रिस उठ्न थालेको छ । मलाई निदले धेरै पटक यस्तै बनाएको छ । मेरो चाहना के भने , मैले फोन गरिन वा उठाएन भने, यो निदाएछ भनेर , ल म पनि सुते, भोलि कुरा गरम्ला भनेर तिमीले मेसेज पठाएको पढ्ने रहर हुन्छ । जब म बिऊँझे तिम्रो मेसेज पढ्दा तिमीले म संग आजित भएर सम्बन्धलाई पुर्णबिराम लगाउने कुरा गरिकी रहेछौ । बिहानको पहिलो मेसेज यस्तो पढ्दा मलाई कस्तो भयो होला । ठिकै छ , यदि मेरो कारणले तिमीलाई तिम्रो जिन्दगीको पाईला बढाउन गारो भाको छ भने तिम्रो प्रस्तावलाई स्वीकार गरिदिन्छु । म तिमी खुशी भएको हेर्न चाहन्छु, तिम्रो जीवनमा एउटा असल साथीको प्रवेश होश भन्ने मेरो पनि चाहना छ । तिम्रो पाइलामा यदी मेरो प्रवेश उचित छैन भने म पनि हाँसी हाँसी तिम्रो प्रस्ताव स्वीकार गरिदिन्छु । जिन्दगीमा यो भन्दा पनि बिकराल परिस्थिथि आउँछन । समस्याको कारण बुझ्न सके सजिलो हुन्छ, तिमी संग कुरा गर्न मलाइ पनि मन थियो , म मन नै नभएको मान्छे कहाँ हुँ र ? थोरै भए पनि संगत गर्दा मेरो निदाउने बानीलाई तिमीले अपमान को रुपमा लियौ । म र मेरो निद्राको तर्फ बाट सरी ।”

यो मेसेज पढे पछि टाउको भाउन्न भयो । असाध्यै मन पर्ने व्यक्तीले केही भनी हाल्यो भने पनि धेरै चित्त दुख्ने रहेछ । अझ मन पर्ने मान्छे एक दिन बोलेन भने पनि अतिनै औडाहा हुन्छ । खोई किन हो किन त्यस पछि चिरन मसँग बोल्न ठ्याक्कै छाड्यो । अनि त्यस पछि उसको मौनतामा म नजानिदो तरिकाले पागल भएँ, उसलाई भुल्न मदिरा सेवन गर्न थालें ‘ ।

जिन्दगीमा सुखी हुनु भनेको मन स्थिर हुनु हो । यदी मन स्थिर भएन वा मन विचलित भईरह्यो भने उ कहिल्यै पनि सुखी हुन सक्दैन । ट्विटरका फिड्स र लाईभ स्ट्रिम्सहरुमा उसका स्टाटसहरु एकोहोरो आईरहेका थिए । उसले मलाई छाड्ने कुरामा मलाई एक रति पनि विश्वाश थिएन । मलाई थाहा छ मेरो प्रेम प्रसंगले मेरो मायालाई सतहमा तैराएको थियो । यस पछि मैले बुझें हरेक वस्तुको निश्चित आयु हुन्छ । प्रेमको पनि त्यस्तै रहेछ । आइमाईहरु माफी दिन वा समझदारी हुन पर्ने अवस्थामा कम सहनशिल भईदिन्छन्, आज चिरनको सवालमा म पनि त्यस्तै भएको छु ।

यो संसार भनेको हजारौं प्रजातिका फुलहरुको फुलबारी त हो नि । फरक फरक रंग , फरक फरक बासना अनि फरक फरक रुपहरु । कोही कोमल हुन्छन्, कोही तिखा । मानवहरुको फुलबारी पनि फुलहरु जस्तै त हो । हरेक मानिस फरक फरक । अनेक रंगका मानिसहरु नभई सांसारिक फुलबारी यती सुन्दर पनि हुदैनन् नि ।

सुखद अन्त्य भन्दा दुखद अन्त्य ज्यादा हुन्छन् प्रेममा । मायामा भईन्जेल उसका उनका हरेक गतिविधीहरु राम्रा र रोचक लाग्छन् । बोली मीठो लाग्छ । वास्ना मीठो लाग्छ । हरेक गतिविधी राम्रा लाग्छन् । कति मायाहरु यस्ता हुन्छन् जुन कहिले वास्तविक जिन्दगीमा देखा पर्दैनन्, तिनको उत्पती भर्चुअल संसारमा हुन्छ र अन्त पनि त्यहीं ।

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ४ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो २ हप्ता पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

सक्कली अयोध्या नेपालमै छ, यी हुन् अयोध्या नेपालमै भएका प्रमाण

सक्कली अयोध्या नेपालमै छ, यी हुन् अयोध्या नेपालमै भएका प्रमाण २ दिन पहिले | लोकमणि पौडेल

सत्यलाई दबाउने उद्देश्यले जब भ्रमको खेती गरिन्छ र हजारौं पटक…

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो ३ दिन पहिले | संसार न्यूज़

२८ असार, काठमाडौं । नेप्सेमा सूचीकरण भएको १ महिनामा नेपाल…