back

लघुकथा : दुःखको भारी

वि.सं.२०७४ फागुन २६ शनिवार

231 

shares
NTC AD
Global IME AD

 

उफ्, कत्ति चर्को घाम लागेको हो, बुढ्यौलीले हो वा विपन्नताले मुजा परेको निधारबाट पसिना पुछ्दै गन्गनाउँछ, यो पार नपाउने भवसागर । कतिन्जेल बोक्ने दुःखको भारी दुःखको भारी बोक्नु नियति हो उसको, भनूँ न नियमित प्रक्रिया । उसलाई थाहा भएदेखि बोकिरहेको छ यो भारी । उसले सानै हुँदा आफ्नी आमाको दुःख बोक्यो । पाँच वर्षको हुँदा आमाको मृत्यु भयो । त्यसपछि बुबाको । एकपछि अर्को दुःख बोकिरहृयो, वर्षेनी जस्तो । हुर्कंदै गएपछि मालिक र मालिक्नीको दुःखको भारी बोक्यो । साहुका दुःख बोक्यो । दुःख बोक्नु लाग्छ, उसको भाग्य हो, किनभने यसबाहेक उसको पुर्पुरोमा अन्य कुरा लेखिएको थाहा छैन । केही खुसीको सपना देख्यो, विवाह, सन्तान र सुखद भविष्य । विवाह ग¥यो । सन्तान जन्मायो । धेरै समय रहेन उसको खुसी, आखिर दुःखको भारी त सँगै नै थियो । श्रीमतीको मृत्यु भयो । केही समयपछि छोरो बित्यो । दिनभर भारी बोक्ने काम गर्छ ऊ । सहरका विभिन्न ठाउँमा सामानहरु बोकेर पु¥याइदिन्छ । दिनभरमा राम्रै हुन्छ कमाइ । एक्लो छ, सानो कोठा लिएको छ भाडामा, सहरको एउटा गल्लीमा । पैसामा अलिक लोभी नै हो कि, प्रायः खाजा खाँदैन । खर्चका नाममा दिनको एक बट्टा विजुली चुरोट । चुरोटमा चाहिँ लोभ गर्दैन । घर भाडा र खाना खर्च त नियमित नै भैहाल्यो । पैसा जम्मा गरेकै हो, दुई चार लाख छ रे बैंकमा । सोच्दै छ, अलिकति जमिन किनूँ, कतै सस्तो–स्तोमा । फेरि घर बनाएर बस्ने त सपनै हुने हो कि, सम्झन्छ । तै पनि एउटा सानो झुप्रोको सपना जीवित छ उसमा । आ…, आखिर कसका लागि जोड्नु घर सर, कुनै बेला यस्तो पनि आउँछ सोचाइमा । फेरि गम्छ, आखिर भर्खर त पचासको लाइनमा छु, घर भए छोरी दिने पनि त आउलान्, नभए कोही विधवा वा एकल जीवन बिताएका महिला भए पनि फकाउन सकिएला ।

काठमाडौँमा मात्र होइन, देशभर घर जग्गा किनबेचमा मन्दी छ अहिले । बेचबिखन हुँदै नभएको त होइन, मानिस घाटाको व्यापार गर्न चाहँदैन । महँगिएको बेलामा किनेका जग्गा सस्तिएको बेला कसले बेच्छ ? तै पनि काठमाडौँभित्रै सानो टुक्र जग्गा किन्ने निर्णय ग¥यो उसले । निकै खोज्यो जग्गा । ९ लाख भन्दा तल पाउन गाह्रो । आफूसँग भएको पैसा सम्झ्यो, जम्मा ६ लाख । अन्ततः काठमाडौँ सहरदेखि थोरै टाढा, त्यति टाढा पनि होइन, रामकोटमा साढे दुई आना जग्गा किन्यो । जग्गाको धनीपूर्जा हातमा लिएको दिन, एकछिन बिर्सिदियो सबै अतीत । लाग्थ्यो, उसको जीवनमा कुनै अभाव छैन, असन्तुष्टि छैन, दुःख छैन । रातभर छातिमा धनिपूर्जा टाँसेर सुत्यो ।

‘श्रीमती र दुई छोरा लिएर घुम्न निस्कियो ऊ । आफ्नै कारमा । आफैँले ड्राइभ ग¥यो गाडी । भर्खरै किनेको हो, १७ लाखमा । चार जना अटाउने गाडी, राम्रो मोडेलको । टाइसुट, राडो घडी र कालो चस्मामा सजिएको पायो आफूलाई । लुकिंग ग्लासतिर हे¥यो र मुस्कुरायो । छेउमा रहेकी श्रीमतीलाई नियाल्यो । ओहो, कति सुन्दर, कति हिस्सी । पछाडिपट्टि बसेका दुई छोरा फूलका थुंगा जस्ता ।

कलंकी, चक्रपथको बाटो हुँदै सातदोबाटो, कोटेश्वर, सूर्यविनायक हुँदै मोडियो कार, नगरकोटका लागि । ओहो, क्या सुन्दर यी डाँडाहरु, चिसो हावाले स्पर्श गरेका श्रीमतीका गाला नियाल्छ पुलुक्क । झनै सुन्दर देखिएकी छे आज, त्यसो त हिजो पनि नराम्री थिइन ऊ । आफ्नै धुनमा खेलिरहेका, गफ गरिरहेका छन् छोराहरु पछिल्लो सिटमा । घच्याक् घच्याक् घच्याक्, एक्कासी अगाडिको चक्काले बाटो छाडेछ । कार पल्टिन थाल्यो वा… इ.., वा… इ…’

निक्कै ठूलो चिच्याहट सुनेर पल्लो कोठाको साथी हर्कमानले ढोका ढक्ढक्यायो, वीरु, ए वीरु, के भो ? हँ, हँ भन्दै उठ्यो वीरु । ओहो, कस्तो भयानक सपना ! निधारभरि पसिनाले लुछुप्पै भिजेको थियो । तौलियाले पसिना पुछ्यो । नाडीमा बाँधिराखेको पिलपिले घडी हे¥यो, चार बजेको रहेछ । उठ्यो र एक मग पानी पियो । ढोका बिस्तारै खोल्यो । के भो वीरु ? किन चिच्याएको ? हर्कमानले सोधेको प्रश्नको उत्तर त दिएन हर्कमानलाई अँगालो मारेर रोइरहृयो धेरैबेरसम्म । भन्यो, साला सपनाले समेत भारी बोकायो दुःखको ।

 

वि.सं.२०७४ फागुन २६ शनिवार ०७:३३ मा प्रकाशित

NLIC AD
NABIL bank AD